२३ आश्विन २०८१, बुधबार

राष्टपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपतिलाई खोप सहयोग गर्न पत्राचार


विद्यादेवी भण्डारी र जोसेफ आर वाइडेन

वाशिङ्टन डिसी । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएको बताए ।

राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए ।

साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराएका थिए ।

राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने वताए । भेटमा उनले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्सअन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !