११ बैशाख २०८१, मंगलबार

थापाको परिवारद्वारा प्रसाईले उपचार खर्च बेहोर्ने गरेको प्रस्ताव अस्वीकार


उज्ज्वल थापा र दुर्गा प्रसाई

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले बेहोर्ने जनाएको प्रस्ताव थापाको परिवारले अस्वीकार गरेको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजाल फेसबुकमा उज्वल थापाको स्वास्थ्य स्थितिको बारेमा लेख्दै सो कुराको जानकारी दिएका हुन् ।

थापा हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ ।

बिएण्डसी मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवी थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा जारी विज्ञप्तिमा स्वास्थ्योपचार रकमका अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत भई आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको थियो ।

पाण्डेले दिएको जानकारी अनुसार चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै भएको बताएका छन् ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको पाण्डेले जानकरी दिएका छन् । पाण्डेले त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञता व्यक्त गर्दै गरेको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि आभार पनि प्रकट गर्दै उज्वलको स्वास्थ्यप्रति सहयोगीहरूको साथले आड भरोसा मिलेको पनि बताएका छन् ।

पाण्डेले लेखेका छन्, ‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’

यो पनि पढ्नुहोस्

नेता उज्ज्वल थापाको उपचार खर्च दुर्गा प्रसाईले बेहोर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !