६ बैशाख २०८१, बिहिबार

अन्धोपन न्यूनीकरण र मोतियाविन्दु उपचारमा ठूलो योगदान छ : डा पोखरेल


डा. रामप्रसाद पोखरेल

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका संरक्षक डा. रामप्रसाद पोखरेलले मुलुकमा अन्धोपन निवारण, मोतियाविन्दु उपचार र आँखा उपचारसम्बन्धी प्राविधिक जनशक्ति उत्पादनमा आफ्नो अस्पतालले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् ।

उक्त अस्पतालको १५औँ वार्षिक साधारणसभामा उहाँले आँखासम्बन्धी रोग उपचारमा अस्पतालले जनतालाई सक्दो सहयोग पुर्याइरहेको बताए । अस्पतालले अघिल्लो वर्ष गरिब तथा विपन्न समुदायका ७२० जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ । त्यसवापत लाग्ने करिब १० लाख अस्पतालले व्यहोरेको थियो ।

साधारणसभाले अस्पताल सञ्चालक समितिका सचिव मेघराज पोखरेल र कोषाध्यष सविता भण्डारीद्वारा प्रस्तुत संस्थाको वार्षिक गतिविधि र आयव्ययसम्बन्धी आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । अनुभवी दक्ष चिकित्सकद्वारा अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम् उपकरणका माध्यमबाट अस्पतालले आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।

सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले नेपाली जनतालाई सुलभ र सरल ढङ्गले आँखा सम्बन्धी सम्पूर्ण विशिष्टिकृत सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले आर्थिक वर्ष २०७६/७७ मा ७५ हजार ७५१ जनालाई आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गरेको थियो । आँखा उपचारका लागि मात्र विशिष्टिकृत सेवा दिने उद्देश्यले ४७ वर्षअघि खोलिएको उक्त अस्पताल मुलुककै जेठो आँखा अस्पताल हो ।

कोरोना महामारी सङ्क्रमणका बाबजुद चालु आवको आठ महिनामा सेवा शुल्कवापत ४ करोड ५० लाख आम्दानी गरिसकेको उक्त अस्पतालले अघिल्लो आवमा ६ करोड ९५ लाख आम्दानी गरेको थियो ।

अस्पतालले काठमाडौँ उपत्यका र बाहिर विभिन्न ठाउँमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले विभिन्न विद्यालयमा आँखासम्बन्धी सेवासमेत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा समाजका विभिन्न क्षेत्रका १२९ आजीवन सदस्यका रूपमा आबद्ध छन् ।

मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया सेवामध्ये ८७ प्रतिशत मोतियाविन्दुसम्बन्धी रहेको जानकारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !