१२ बैशाख २०८१, बुधबार

रूघा-खोकीको सफल घरेलु उपचार


रूघा-खोकीको सफल घरेलु उपचार

हेर्दा र सुन्दा सामान्य भएपनि यो बिग्रन गएमा ठूलो समस्या निम्तने रोग अन्तर्गत पर्दछन् । हाम्रो दैनिक जीवनमा सवैभन्दा बढी देखिने रोग पनि यिनै हुन । यस्ता रोगबारे जानी राख्नु नितान्त आवश्यक छ । रोग जुनसुकै किन नहोस् सानो हुदैन । हाम्रो सानो लापरबाहीले ठूलो समस्या निम्तन सक्छ ।

यो रोगमा एण्टिबायोटिक चलाउनु भन्दा सामान्य जडिबुटीले पनि निको बनाउन सक्छ । आज मैले रूघा र खोकीको बारेमा राम्रो जानकारी पाठकको हितमा पस्कन गइरहेको छु । खोकी भन्दा रूघा प्राय: धेरैलाई हुने गरेको छ ।

रूघा खोकी बिग्रिएको खण्डमा दम निमोनिया टिबी जस्ता रोग लाग्ने सम्भावना प्रवल भएको हुन्छ । यस्ता रोग देखिएमा शुरूमा घरेलु औषधि दिएर निको बनाउन जुट्नु राम्रो हुनेछ । यस्ता रोगको उपचार शुरूमा एण्टिबायोटिक दिएर हेर्दा रोग घट्नुको साटो बढ्ने हुन सक्छ । रूघा लाग्दा देखिने केहि लक्षण तल दिएको छु ।

सामान्य अवस्थामा देखिने रूघाका लक्षणहरू

१. चिसो संगै नाकबाट पानी बग्ने हाच्छिउ आउने ।

२. नाक बन्द हुने ।

३. सुख्खा खोकी लाग्ने ।

४. टाउको भारु हुने ।

५. अल्छीपना हुने ।

रूघा एकबाट अर्कोमा सर्ने माध्यम

१. रुघाबाट पीडित ब्यक्तिले हाँक्छ्यु गर्दा वा खोक्दा भाइरसयुक्त खकारको स-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ ।

२. स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघा फैलिन्छ ।

यो रोगबाट आफुलाई कसरी बचाउने ?

१. बराबर हात धुने, ब्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उत्तम उपाय मानिन्छ । मुखमा मास्क लगाउने । खाना खाँदा होस् या अन्य समयमा हातलाई मिचिमिची धोएर मात्र खाना खाने बानी बसाल्नु पर्दछ ।

२. भिडभाड हुने ठाउँ जस्तै: सिनेमा हल, आमसभा, मेला आदिमा सकेसम्म नजाने ।

३. रुघा-खोकीबाट पीडित ब्यक्तिको सम्पर्कमा सकेसम्म नआउने ।

४. अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हाछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्यु पेपरको प्रयोग गर्ने । फेस मास्क लगाउन नभुल्ने ।

रूघा खोकी लाग्दा के खाने के नखाने सवैभन्दा महत्वपूर्ण विषय हो । यदि हामीले यस कुरामा ध्यान दिन सकेमा आधी समस्या आफै हल भएको हुनसक्छ । आउनुस् के खाने, के नखाने जानौं ।

१. आलु, बैगन, गाजर फर्सी, लौका, शिशीको अचार, दही, चिसो, अमिलो तथा गुलियो पदार्थहरुको सेवन सकेसम्म नगर्ने ।

रुघा-खोकीको घरेलु उपचार

१. रुघा-खोकी लागेमा आफिस वा स्कुल, कलेज नजाने । गरम पानी, सुप, झोलीलो पदार्थ आदि प्रर्याप्त मात्रामा लिने गर्नु पर्दछ ।

२. तुल्सीको पात, अदुवा, कालो मरिच एवं ल्वाँगको मिश्रण मसाला युक्त चिया-रुघा खोकीमा अत्यन्तै लाभदायक हुन्छ ।

३. अलिकति अदुवाको रस-गरम गरेर मन तातो भएपछि मिस्री वा मह मिसाएर सेवन गर्नाले पनि फाइदा गर्दछ । या अदुवा पोलेर मिश्री मिलाएर चुस्दा पनि रूघा खोकी निको हुन्छ ।

४. असुरो र अदुवा राखेर पकाएको काढा मनतातो भएपछि २ चमचमा १ चमच मह राखेर दिनमा २ पटक सेवन गर्दा यसले रूघाखोकी निको हुनुको साथै दमको रोगमा समेत राम्रो फाइदा पुर्याउदछ ।

५. खुकुरी रम २ चमच एक गिलास मनतातो पानीमा राख्ने र २ चमच जती मह मिलाएर दिनमा एकपटक केहि दिन खान दिने तर साना बच्चाको हकमा यो औषधि उपयुक्त छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !