७ बैशाख २०८१, शुक्रबार

हेटौँडा अस्पतालमा सघन र उच्च उपचार कक्ष उद्घाटन


डोरमणि पौडेल

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन गरीरहेको बताउनुभएको छ । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा निर्मित सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष (एच.डि.यु) को आज उद्घाटन गर्दै जनतालाई समाजवादप्रति उन्मुख गराउन स्वास्थ्य र शिक्षाको गुणस्तरीय र दक्षजनशक्ति उत्पादनको लागि सरकारले क्रमशः शिक्षण अस्पताल स्थापना गर्दै लाने नीति रहेकोछ भन्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको व्यवस्थापनमै भक्तपुर, नुवाकोट र सिन्धुली जिल्ला अस्पतालमा आजैदेखि सघन उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले सङ्घीय सरकारद्वारा प्रदेशमा अस्पतालको स्तरोन्नति र निर्माणको लागि गरिएको प्रयास अन्तर्गत १३ जिल्लामा ५१ वटा अस्पतालको आज शिलान्यास हुने उल्लेख गर्दै सङ्घीय सरकारले ती अस्पतालको निर्माणको लागि रु ५८ अर्ब अनुदान रकम उपलब्ध गराएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडाको जनघनत्वलाई मध्यनजर राखी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडामा केही दिनभित्रै ३०० श्ययाको शिक्षण अस्पताल निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले उक्त शिक्षण अस्पताल निर्माणको लागि रु ४५ करोड रकम बजेट विनियोजन गरेको र अब हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेकोछ भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासलाई मदनभण्डारी स्वास्थ्य विज्ञानले निरन्तर सहकार्य गरेर जनताको आस्था वृद्धि गर्ने बताउनुभयो । विसं. २०१८ मा स्थापना भएको हेटौँडा अस्पतालमा पहिलो पटक आजदेखि सघन उपचार सेवा र उच्च उपचार कक्ष सेवा सञ्चालनमा ल्याइएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा प्रवीन श्रेष्ठले बताउनुभएको छ । हेटौँडा अस्पतालमा अहिले प्रदेश नं २ का बारा, पर्सा, रौतहटका बिरामी स्वास्थ्य उपचारको लागि आउने गरेको र ती बिरामीलाई दक्ष चिकित्सकले परीक्षण गरेर आवश्यकता अनुसार आन्तरिक कक्षमा भर्ना गरी उपचार सेवा दिइरहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !