११ बैशाख २०८१, मंगलबार

डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली र डा. गोविन्द केसी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा सुधारका सामाजिक अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने सामाजिक संजाल ट्वीटरमार्फत बताएका छन् । कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो समेत आएको छ । सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।

डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् । डा. केसीले चिकित्सा शिक्षामा भएका विभिन्न बिकृति र बिसंगतिहरुको सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !