७ बैशाख २०८१, शुक्रबार

पोखरामा बिना स्वीकृति अस्पताल सञ्चालन


Capture

२१ पुस, पोखरा । जनप्रिय हस्पिटल प्रालि स्विकृति बिनै सञ्चालन गरिएको पाइएको छ । सिमलचौरमा रहेको अस्पतालले थुप्रै मापदण्ड पूरा नगरेको जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशन समेत अवज्ञा गरेको छ ।

केही पूर्वाधार पूरा गर्न बाँकी देखिएकाले सञ्चालन अनुमति नदिइए पनि सञ्चालकले जबर्जस्ती चलाइरहेको कार्यालयले जनाएको छ । उक्त अस्पताल पहिले लामो समयसम्म बाल उपचार केन्द्रका रूपमा थियो । सञ्चालन अनुमतिका लागि अस्पताल सञ्चालकले जनस्वास्थ्य कार्यालयमा निवेदन हालेका थिए । कार्यालयको टोलीले केही पूर्वाधार अभाव देखिएपछि पूरा गर्न निर्देशन दिएको थियो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश कुमार चापागाईंले स्वास्थ्य सम्बन्धी सबै अधिकार महानगरलाई हस्तान्तरण भइसकेको बताए । ‘पुरानो प्रक्रियामा रहेको फाइल भएकाले आफूहरूले निरीक्षण गरी अस्पताल सञ्चालन अनुमतिका लागि आवश्यक पहल मात्र गरेका हौं,’ उनले भने, ‘पूर्वाधार पूरा नभएसम्म सञ्चालन अनुमति दिंदैनौं । अटेर गरे कानुनी कारबाहीमा जान्छौं ।’ अहिलेसम्म स्वास्थ्य मन्त्रालयबाट निर्देशिकाको ड्राफ्ट पनि नआएकाले नवीकरण गर्न नसकिएको महानगरअन्तर्गत स्वास्थ्य शाखाका प्रमुख हेमन्त पौडेल बताउँछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !