४ बैशाख २०८१, मंगलबार

धौलागिरि अस्पताल २०० शै्ययाको हुने


धौलागिरि अस्पताल

बलेवा, १३ कात्तिक । गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शै्यया क्षमताको हुने भएको हो ।

विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । अस्पताल पूर्वाधार विस्तारका लागि जग्गा खोज्न सङ्घीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिसहितको बुधबारको बैठकले सर्वपक्षीय समिति गठन गरेको छ ।

समितिले एक महिनाको कार्यावधि पाएको छ । समितिको संयोजकमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर रहनुभएको व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

बैठकमा गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अस्पतालका सेवा प्रवाह र भावी योजनाबारे जानकारी गराउँदै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने वताउनुभएको थियो । गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका छ लाख बिरामीले वार्षिक उपचार पाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !