८ बैशाख २०८१, शनिबार

स्वास्थ्य चौकीमा पूर्वाधार अभावमा सेवा प्रभावित


healthpost1

म्याग्दी, ११ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेकी रिया छन्त्याललाई बिरामी भएर स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या खुलेर बताउन असहज लाग्छ । बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सो वडाका अन्य नागरिक पनि छन्त्यालको जस्तै समस्या झेल्न बाध्य छन् । “एउटै कोठाबाट सञ्चालित स्वास्थ्य चौकीमा कोही नभएको मौका छोपेर जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गराउने ठाउँ पनि सहज छैन ।”

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने घ्यासीखर्कस्थित स्वास्थ्य चौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन ।

कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ । रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ । बिरामी जाँच्ने, गर्भ परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट सञ्चालन गर्नुपरेको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले बताउनुभयो ।

जीर्ण भवनको साँघुरो कोठाबाट सेवा लिने नागरिक र दिने स्वास्थ्यकर्मीलाई असहज भएको छ । दुर्गम क्षेत्रमा पर्ने सो स्वास्थ्य चौकीबाट घ्याँसीखर्क, कुइने, चौरखानी, खरिबोट, दाड, दुवाडी, पात्लेखर्कका बासिन्दाले सेवा लिने गर्छन् । दैनिक कम्तीमा १० जनाले सेवा लिने गरेका छन् ।

पूर्वाधारको अभावका कारण सुरक्षित प्रसूति सेवा शुरु गर्न सकिएको छैन । गर्भवतीहरु सुत्केरी हुन चिमखोला र बेनी पुग्नुपर्ने बाध्यता रहेको पात्लेखर्कका बासिन्दा रहेकी वडा सदस्य प्रिती पुनले बताउनुभयो । “खर्चको जोहो गर्न सक्नेहरु सुत्केरी हुन बेनी र पोखरा जान्छन”, उहाँले भन्नुभयो, “आर्थिक जोहो गर्न नसक्ने विपन्न गाउँमै असुरक्षित प्रसूति हुन बाध्य छन् ।”

असुरक्षित प्रसूति हुँदा बच्चा र आमाको ज्यान जोखिममा परेको छ । सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको हो । विसं २०७४ भदौमा सङ्घीय सरकारअन्तर्गतको शहरी विकास विभागको भवन डिभिजन कार्यालले भवन निर्माण शुरु गरेको थियो ।

दुईतले भवन बनाउन मसुद–बिएन–त्रिशक्ति जेभीसँग रु एक करोड ६० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माणले अझै पूर्णता नपाएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

“ठेकेदारले फर्निचर, घेराबार र प्रवेशद्वारलगायतका काम सकेर हस्तान्तरण गरेकाले नयाँ भवन भवन प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण सकेर छिटो हस्तान्तरण गरी सेवा प्रवाहलाई सहज बनाउन र रघुगङ्गा नदीको कटान नियन्त्रण गर्न ताकेता गरिरहेका छौँ ।” निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले २०७५ भदौमा रघुगङ्गा नदीमा आएको बाढी पसेको र भौगोलिक विकटतालगायतका कारणले ढिलाइ भएको भवन दशैँअघि नै हस्तान्तरण गरिने प्रतिक्रिया दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !