, महिला चिकित्सक पाएपछि खुशी छन् दार्चुलाका महिला

महिला चिकित्सक पाएपछि खुशी छन् दार्चुलाका महिला

दार्चुला, ५ भदौ । “जिल्ला अस्पताल दार्चुलाको वहिरङ्ग सेवा (ओपिडी) कक्ष बाहिर टाँसिएको ‘नेम प्लेट’ मा लेखिएको छ– मेडिकल अधिकृत डा पूजा बम । बम थर देखेपछि अधिकांशले सोधखोज गरिहाल्छन् उहाँ कतै यही दार्चुलाकै हो कि भनेर । दार्चुलामा अनुमान लगाउन धेरै गाह्रो नपर्ने यो थरकी चिकित्सक पूजा पनि यहीँकै हुनुहुन्छ ।

पहिलो खुशी त यहाँका सबै जिल्लाबासीमा आफ्नो जिल्लाकै चिकित्सक पाएकामा देखिन्छ । अझ त्यसभन्दा पनि बढी खुशी यहाँका महिला छन् । महिला चिकित्सक पाएपछि यहाँका पुरुषभन्दा पनि बढी महिला खुसी नहुने कुरै भएन । पिछडिएको जिल्ला र कतिपय अवस्थामा आफ्ना प्रसूतिजन्य जटिलताहरु भन्न या देखाउन उनीहरुलाई पुरुषभन्दा महिला चिकित्सक बढी सहज लाग्नु स्वाभाविकै हो । यस कुराले यहाँका महिलालाई बढी खुशीयाली डा बम यहाँ आएका कारण दिलाएको छ ।

दार्चुलाको साविकको पिपलचौरी गाविस हाल दुहुँ गाउँपालिकामा जन्मिनुभएका बमको सानैदेखिको सेतो कोट लगाउने इच्छा पूरा भएको छ । “जति बेला म सानै थिएँ अस्पताल जाँदा सेतो कोट लगाएका डाक्टरहरु देख्थेँ , त्यतिबेलै देखि मलाई पनि सेतो कोट लगाएर विरामीको सेवा गर्ने इच्छा पलाएको हो” बम भन्नुहुन्छ ।

त्यतिबेला बिरामी भएर उपचारमा गएको समयमाा चिकित्सकले स्वास्थ्य जाँच गरेर निको हुन्छ भनेर घर पठाउँदा छुट्टै खुसीको अनुभूति हुने गरेको उहाँको अनुभव छ । “खासमा त्यही कोटले लोभ्याएर म पनि डाक्टर बन्छु भन्ने अठोट लिएँ” डा.पुजाले सुनाउनुभयो ।

“पिपलचौरीमा जन्मिएको भए पनि मैले यो ठाउँमा अध्ययन गर्न पाइन्,” उहाँले भन्नुभयो, बुबा धर्मबहादुर वम गाउँ नजिकैको विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । बुबाले महेन्द्रनगर पढ्न पठाउनुभयो । मेरो इच्छाअनुसार बुबाले पनि छोरी डाक्टर बनोस् भन्ने चाहना राख्नुभएको थियो” उहाँले सुनाउनुभयो । उहाँले काठमाडौँमा एमबीबीएस गर्नुभयो । सरकारी छात्रबृत्तिमा अध्ययन गर्नुभएको वमले इन्टर्न सक्ने वित्तिकै उहाँको पहिलो रोजाई थियो, दार्चुला जिल्ला अस्पताल ।

अहिले जिल्ला अस्पतालमा आइसकेपछि गाउँको याद खुबै आएको उहाँ सुनाउनुहुन्छ । छ वर्षअघि एक पटक गाउँ पुगेको बताउने डा.वमले अहिले डाक्टर भएर गाउँ जान पाउँदा खुबै खुसी हुने अनुभव सुनाउनुहुन्छ । यहाँ जिल्ला अस्पतालमा आएको दुई महिना भए पनि कोरोना र बाटो अवरुद्ध भएका कारण गाउँ पुग्न नपाएको बताउनुभयो । तर पनि उहाँका गाउँका अधिकांश व्यक्तिसँग यहीँ अस्पतालमा नै भेट हुन थालिसकेको छ ।

“अधिकांशले खोजी गरेरै आउनुभएको छ । आफू यहीँको छोरी भएका कारण पनि उहाँहरु कोही उपचार त कोही भेट्नका लागि आउनुभएको छ । त्यसैले पनि मैले जिल्ला छनौट गर्दा दार्चुला पहिलो रोजाई बन्यो,” उहाँले भन्नुभयो, “पछि कता पुगिन्छ, तर शुरुको दुई वर्ष जिल्लाको सेवा गर्छु भनेर नै यहाँ आएको छु ।”

“यहाँका ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य समस्या नजिकबाट बुझेको छु, अझै बुझ्दैछु । चेतनास्तर नपुगेका कारण महिलाहरु अहिले पनि खुलेर आफ्नो रोगबारे भन्न सक्दैनन् । महिला डाक्टर हुँदा त आफ्ना प्रसूतिजन्य जटिलताहरु खुलेर देखाउन या भन्न यस्तो लाज मान्छन् झन् पुरुष डाक्टर हुँदा कस्तो थियो होला, मलाई त सम्झेरै अचम्म लाग्छ,” उहाँले भन्नुभयो, “रोग लुकाउँदा कैयौँ महिलाको ज्यान जोखिममा पर्ने गरेको छ, अब चेतनास्तरमा बृद्धि गर्नुपर्छ यसरी रोग लुकाएर हुँदैन ।”

“सडक बाटो घाटो नहुँदा कैयौँ विरामीले समयमै अस्पतालसम्म पुग्न सकेका छैनन्,” डाक्टर वम भन्नुहुन्छ, “सरकारले सडक मात्र पुर्याउन सके यहाँका जनताले समयमै उपचार पाउँथे ।”

यहाँका महिलाहरुमा हुने स्वास्थ्यसम्बन्धी समस्याहरुबारे उहाँले सुनाउनुभयो– “प्रायः सेतो पानी बग्ने, पिसाब समस्या, जस्ता रोग बढी देखिन्छन् । महिलामा कामको बोझ बढी छ । कामको बोझले गर्दा समयमै खानपिन छैन भने पानी त झनै कम खाने गरेको देखिन्छ ।”

आफ्नो ठाउँमा आएर सेवा गर्न पाउँदा निकै खुसी देखिनुहुन्छ डाक्टर वम । “यो मेरो लागि अहोभाग्य हो । मेरो चाहनाअनुसार मैले आफ्नो जिल्ला आएर आमा बुबाको सेवा गर्न पाएँ । अबको दुई वर्ष म कतै जान्न, यहीँ सेवा गर्छु ।”

विद्यालय जीवनदेखि लामो समयदेखि जिल्लाबाहिरै अध्ययन गरेर यहाँ आउँदा उहाँलाई जिल्लाकै स्थानीय डोटेली भाषाको मााया बढी देखिन्छ । कतिपय ज्येष्ठ नागरिकहरु उपचारमा आउँदा उहाँले डोटेली भाषामै कुरा गर्नुहुन्छ । उहाको अनुभवमा आफ्नो भाषा बोलेपछि विरामी पनि झन खुलेर समस्या भन्न सक्छन् र अपनत्व महसुस गर्छन् ।

उहाँले विरामीसँग कुराकानी गर्दा स्थानीय भाषा र लवज प्रयोग गरी बोल्नुहुन्छ र सकेसम्म खुलेरै आफ्नो समस्या भन्न सकुन् भन्ने उहाँको उद्देश्य छ । कहिलेकाहीँ आफन्त अप्ठ्यारो विरामी भएर पुग्दा, अथवा मृत्यु भएर शव पोष्टमार्टम गर्नुपर्दा भने भावुक हुने गरेको उहाँले सुनाउनुभयो ।

“यहाँ आएदेखि उहाँ निरन्तर विरामीको चेकजाँचमा भेटिनुहुन्छ । आफन्तहरु सबैसँग भेटघाट गर्न पाइएको छैन्, तर पनि अस्पतालकै ड्युटीमा उहाँहरु प्रायसँग भएको छ” उहाँले सुनाउनुभयो । उपचारका लागि पर्याप्त ठाउँ नभएको उहाँ बताउनुहुन्छ । “अस्पतालको लागि ठाउँ साघुरो भयो । दुई जना डाक्टरसँगै बसेर उपचार गराउन समेत ओपिडी छैन । सानो कोठामा विरामी हेर्नुपर्ने बाध्यता हटाउन सके हुन्थ्यो” उहाँले सुझाव दिनुभयो ।

विसं २०७० को बाढीले जिल्ला अस्पताको अधिकांश भू–भाग बगाएको थियो । बाढीपछि अस्पतालको क्षेत्र सानो भएको छ । यहाँ जिल्ला अस्पतालका लागि भवन भए पनि अझै पर्याप्त भने छैन । यहाँ दिनहुँ कम्तीमा ७० देखि ८० जना विरामी आउने भएकोले यो ठाउँ साँघुरो भएको छ ।

ओपिडी पनि व्यवस्थित छैन र शव पोष्टमार्टम गर्ने भवन सानो पहिरोको टुप्पोमा छ । अस्पताल व्यवस्थापनमा सबैको ध्यान गए जिल्ला अस्पताल फेरिन्थ्यो । विरामीको भीडभाड हुन्छ, यतिखेर देशमा कोरोना भाइरसको प्रकोप रहेकोले भीडभाड नगर्नु भन्ने खालका जनचेतनामूलक कार्यक्रम आवश्यक छ । यहाँ पुरुषभन्दा बढी स्वास्थ्य समस्यामा महिलाहरु छन् ।

त्यसैले पनि महिला डाक्टर भएर जिल्ला आउँदा यहाँका स्थानीय धेरै खुसी छन् । स्थानीय गौरी बडाल भन्नुहुन्छ “महिला डाक्टर नै आएपछि महिलाको समस्या भन्न सहज मानेका छौँ, अरुको अनुभव पनि यस्तै छ । सबै महिला विरामीले आफ्नो समस्या पुरुष डाक्टरलाई भन्न सक्दैनन् । महिला डाक्टर आएपछि हामीलाई आफ्नो समस्या सुनाउन सहज भएको छ ।”

महिला डाक्टर विरलै आउथे जिल्ला अस्पताल दार्चुलामा । योभन्दा पहिले एक पटक एकजना महिला डाक्टर आएको स्मरण गर्नुुहुन्छ जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्ट । जिल्लाले पहिलो पटक स्थानीय महिला डाक्टर पाएको छ । अहिले अस्पतालमा दुई महिला डाक्टर हुनुहुन्छ । अर्का महिला डाक्टर रेनु घलान ललितपुरकी हुनुहुन्छ । उहाँ गत माघ महिनादेखि यहाँ कार्यरत हुनुहुन्छ । यतिखेर यस्तो राम्रो संयोग मिलेको छ कि अस्पतालको सेवामा सबै युवा चिकित्सकहरु नै हुनुहुन्छ ।

जिल्लाको लागि केही गरौँ भन्ने भावना भएका हुनुहुन्छ । तर उहाँहरुको लागि बस्ने वातावरण सिर्जना गरिनुपर्छ । अहिले जिल्लाकै दुई जना डाक्टर कार्यरत हुनुहुन्छ । अर्का डाक्टर हुनुहुन्छ दुहुँ गाउँपालिकाकै अनिल बडाल । अस्पतालमा सात जना डाक्टर कार्यरत हुनुहुन्छ । डाक्टरको समस्या छैन । तर पूर्वाधार निर्माणको लागि अब ध्यान दिनुपर्छ सूचना अधिकारी समेत रहेका भट्ट भन्नुहुन्छ ।

अस्पतालमा आइसियु तथा सिटीस्क्यान सुविधा नभएर अधिकांश विरामी बाहिर पठाउनुपर्ने बाध्यता छ । हाइड्रोसिल, हर्निया, एपेन्डीसाइटिस् जस्ता रोगका विरामी आए तुरुन्तै रिफर गर्नुपर्ने अवस्था छ ।

विगतको तुलनामा अहिले अस्पतालको सेवामा पनि सुधार हुँदै गएको छ । अहिले अस्पतालसँग डिजिटल एक्सरे, ल्याब सेवा स्तरोन्नति भएको छ, डाक्टरको सङ्ख्यामा कमी छैन । अहिले भएको जनशक्तिबाट बढी सेवा लिनसक्ने गरी जिल्लाबासीले यहाँको विकासको लागि सोच्नुपर्ने भएको छ ।

अस्पतालको नेतृत्व पनि युवा डाक्टरले नै गर्नुभएको छ । अछामको साँफेबगर नगरपालिका–६ घर भएका डाक्टर गजेन्द्र दुवालले अहिले अस्पतालको मुहार फेर्नेतर्फ ध्यान दिनुभएको छ । दुर्गम क्षेत्रको समस्या बुझेका डाक्टर दुवालले नेतृत्व गरेको अस्पतालमा अहिले युवा जनशक्तिले चलाएका छन् ।

अस्पतालमा अहिले एमडिजीपी डाक्टर दिपेश मंगल जोशी छन् । मेडिकल अधिकृत राजन बाडे, नविन किशोर मल्ल, रेनु घलान, एमबिबिएस डाक्टर अनिल बडाल कार्यरत छन् ।

अस्पतालको नेतृत्व गरेका डाक्टर दुवालले पनि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा २०६७ सालमा मणिपाल कलेज पोखराबाट एमबीबीएस पढाइ शुरु गर्नुभएको थियो । जुनियर डाक्टरको रुपमा अन्य ठाउँमा बसेका डाक्टर दुवालले एकै पटक सिनियर डाक्टर बनेर अस्पतालको नेतृत्व गर्ने अवसर पाउनुभयो । उहाँ आएपछि जिल्ला अस्पतालमा सुत्केरी कक्ष, शल्यक्रिया कक्ष, प्रयोगशाला, डिजिटिल एक्स रे सेवाको सबै व्यवस्थापनमा जोड दिनुभयो ।

अस्पतालमा बेड सङ्ख्या उहाँहरूको कसरतमा बढाउन मिल्यो तर सरकारले तोकेको दरबन्दी यो अस्पतालमा कहिलै पूरा भएनन् । अहिले पनि दरबन्दी अनुसारको जनशक्ति छैन । मेसुको दरबन्दी रहेको अस्पतालमा स्थापनादेखि आएका छैनन् ।

“अस्पताल सुधारको लागि मुख्य समस्या भनेकै भवन हो,” डाक्टर दुवाल भन्नुहुन्छ । पूरानो जीर्ण भवनबाट सेवा दिनुपर्दा नमज्जा लागिरहेको छ । भवनको लागि बजेट नआएको हैन तर जमिनको सुनिश्चितता नहुँदा बन्न सकिरहेको छैन । “स्वास्थ्यको पूर्वाधार मात्र बनाउन सकेपनि धेरै समस्या समाधान गर्न सकिन्थ्यो,” दुवालले भन्नुभयो ।

केही डाक्टरहरुको करार अवधि सकिँदैछ । एमडिजीपी डाक्टरको भदौसम्म मात्रै करार अवधि छ । अहिले डाक्टर छन् तर करार सकिएर गइसकेपछि पनि सेवालाई निरन्तरता दिन समयमै डाक्टर व्यवस्थापनतर्फ ध्यान जानुपर्ने देखिन्छ ।