७ बैशाख २०८१, शुक्रबार

लकडाउनले पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित


पलाञ्चोक भगवती

बनेपा, २१ वैशाख । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ ।

पाँचखाल नगरपालिका प्रमुख एवं पलाञ्चोक भगवती मन्दिर संरक्षण विकास समितिका अध्यक्षसमेत रहनुभएका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भन्नका लागि नगर कार्यपालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ÷संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजाबाहेक अन्य कुनै जात्रा कार्यक्रम नगर्न नगराउनु हुन सबै गुठीयारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नं ९ को कार्यालयलाई पत्राचार गरेको छ ।

यसैबीच बनेपा नगरपालिका–५ चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा वैशाख पूर्णिमामा हँुदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जात्रा व्यवस्थापन गर्ने बनेपा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा जात्रा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

जात्रा हुने चार दिन अगाडि गुठीयारहरुले सानो रथमा त्यहाँका गरगहनाहरु चेक गरी रथारोहण गर्ने गरिएकामा त्यसलाई समेत स्थगन गरिएको छ । चण्डेश्वरी निजी खच्चा गुठीका सदस्य रघुवर चौप्रधानले बन्दाबन्दीको अवस्थामा जात्रा सञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा (क्षमापूजा) मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो । अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमितरूपमा हुने नित्य पूजा भने सञ्चालन हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !