८ बैशाख २०८१, शनिबार

राससको आमूल परिर्वतन आवश्यक : अध्यक्ष श्यामल


Harihar Adhikari (symal)

२९ साउन, भीमदत्तनगर । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले राससलाई पुर्नजीवन दिन र विश्वसनीय सञ्चारमाध्यमका रुपमा विकास गर्न आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा रहेको रासस प्रदेश नं ७ को कार्यालय निरीक्षणका क्रममा बोल्दै अध्यक्ष श्यामलले राससको सुधारका लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

कार्यालय निरीक्षणपछि कञ्चनपुरका सञ्चारकर्मीसित राससको सेवा प्रवाहका विषयमा छलफल गर्दै अध्यक्ष श्यामलले राससको रुपान्तरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

राससबाट सेवा लिने सञ्चारमाध्यमले इमान्दारिता देखाउनुपर्ने उहाँको भनाइ थियो । “राससका समाचार अनाधिकृत प्रयोग नियन्त्रण गर्न पहल गरेको छु” उहाँले भन्नुभयो, “विगतमा मुलुकमा अस्थिरताका कारण रासस जीर्ण र रोगी बन्न पुग्यो । अब यसलाई सबै मिलेर गतिशील बनाउनु पर्दछ ।”

सो अवसरमा प्रदेश नं ७ का पत्रकार एवं कान्तिपुर दैनिकका प्रदेश प्रमुख चित्राङ थापाले राससले कुशल नेतृत्व पाएको बताउँदै अध्यक्ष श्यामललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । “रासस पत्रकारिताको पाठशाला हो” वरिष्ठ पत्रकार थापाले भन्नुभयो, “राससलाई नयाँ गति दिनुहोस्, नेतृत्वलाई शुभकामना ।” उहाँले मिडियामा राजनीति हावी भएकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो । छलफलमा रासस प्रदेश सहसंयोजक प्रकाश सिलवाललगायतको सहभागिता रहेको थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !