१२ बैशाख २०८१, बुधबार

विज्ञको निष्कर्ष : आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो


विज्ञको निष्कर्ष

काठमाडौँ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको औंल्याएका छन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै विज्ञले यस्तो बताएका हुन् ।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाइ विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सोको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाइ सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताएका छन् । उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाइ सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाइ सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले नेपालको हवाइ सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको औंल्याए । उनले हवाई दुर्घटनाका रिर्पोटहरुले दिएको सुझावको आधारमा अघि बढ्दा पनि नेपालमा हवाइ दूर्घटनालाई न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !