१२ बैशाख २०८१, बुधबार

अाजबाट कक्षा १२ काे परीक्षा सुरू


NEB

१४ वैशाख, काठमाण्डाै । देशभर वैशाख १४ गते अाज (शुक्रबार)बाट माध्यामिक शिक्षा उर्तिर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षाा सुरू हुँदैछ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षाबारे जानकारी दिँदै बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षाको सबै तयारी पूरा भएको र परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बताउनुभयो । वैशाख ३० गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिक तर्फको परीक्षाका लागि देशभरका १ हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । केन्द्रमध्ये सबैभन्दा बढी काठमाडौंमा ११४ र सबैभन्दा कम मनाङ्ग र मुस्ताङ्गमा एक–एक वटा रहेको उहाँले जानकारी दिनुभयो ।

देशभरका ३ हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कुल ९ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । त्यसअन्तर्गत कक्षा १२ मा २ लाख ८ हजार २७६ छात्र र २ लाख ६ हजार ९७५ छात्रा गरी कुल ४ लाख १५ हजार २५२ परीक्षार्थी एवं कक्षा ११ तर्फ २ लाख ६३ हजार १६८ छात्र र २ लाख ८७ हजार ७९१ छात्रा गरी जम्मा ५ लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा सबैभन्दा बढी काठमाडौबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ र सबैभन्दा कम मनाङ्गमा कक्षा ११ र १२ मा ८८–८८ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षामा १ हजार ५१ केन्द्राध्यक्ष, १ हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, १ हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कुल ३९ हजार ७०२ जनशक्ति परिचालन गरिने भएको छ । कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गतेबाट जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षा सम्पन्न भएको ९० दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो । उहाँले परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदान–प्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहिन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

परीक्षामा अमर्यादित काम गरेको पाइएका ६ महिना कैद र एक लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !