१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान


राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभयो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

समारोहपछि राष्ट्रपति भण्डारीसँग भारतीय सेनाध्यक्ष नरवणेले शिष्टाचार भेट गर्दै आफूलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएकामा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

भारतीय नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित हुनुहुन्थ्यो । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधबार यहाँ आउनुभएको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उहाँको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । नेपाली सेनाले उहाँको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुहुनेछ । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !