७ बैशाख २०८१, शुक्रबार

रोजगार गुम्दा दशैँ पीडादायी


रोजगार गुम्दा दशैँ पीडादायी

टीकापुर, १६ कात्तिक । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुनुहुन्छ । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदाय स्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन् ।

रोहितका भाइ रोहन निजामती सेवातर्फका अधिकृत हुनुहुन्छ । हरेक वर्ष दशैँमा रमाइलो गर्ने यी दुई भाइ यस वर्ष खासै रमाउन सकेनन् । “भाइले खसी काटेर, नयाँ लुगाकपडा किनेर धुमधामका साथ दशैँ मनायो, तर मेरो त घरमा अन्नकै समस्या शुरु भइसकेको थियो”, रोहितले भन्नुभयो, “मलाई निकै पीडा भयो, समाजमा शिक्षक भनेर चिनिएको मानिस छैन भन्न पनि सकिनँ । भाइले पनि यस वर्ष धुमधाम नगरौँ दाइ बेरोजगार भएको छ भनी बुझेन ।” रोहितले यस वर्ष दशैँमा श्रीमती र बालबच्चालाई नयाँ लुगा, मिठो खानेकुरा खुवाउन नपाएको बेला भाइको तडकभडकले थप पीडा दिएको बताउनुभयो ।

टीकापुर–३ का ललिता चौधरीका दम्पती नै निजी विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ । ललिताको पनि रोहितको जस्तै समस्या शुरु भएको छ । कमाउने दुवै बेरोजगार भएका छन् । विद्यालय नचलेसम्म उनीहरुको घरमा समेत खुशीयाली पस्नेवाला छैन । “यस वर्ष माइत पनि गइनँ, कोरोना महामारी फैलिएको छ, सञ्चो छैन भन्ने बहानामा आफन्तकहाँसमेत टीका लगाउन गएनौँ”, ललिता भन्नुहुन्छ, “छिमेकीले रमाइलो गरी दशैँ मनाएको देख्दा छोराछोरीले सताउने रहेछन् । खर्च नभएर यस वर्ष दशैँमा धेरै दुःख लाग्योे ।”

कोरोना सङ्क्रमणको जोखिम बढेपछि विद्यालय बन्द हुँदा कैलालीका हजारौँ शिक्षकको रोजीरोटी चलेको छैन । कैलालीमा समुदायस्तरमै सङ्क्रमण देखिन थालेकाले विद्यालय खुल्ने टुङ्गोसमेत लागेको छैन । “विद्यालय नचले शिक्षकले तलब कहाँबाट पाउनु ? अधिकांश निजी विद्यालय भाडाको घरमा चलेका छन्”, स्थानीय बन्दना जैसी भन्नुहुन्छ, “अब कति विद्यालयलाई घरधनीले घर खाली गर्न लगाउनेछन् । विद्यालय नचलेका कारण धेरैको घर चलाउन मुस्किल भएको छ ।”

सामाजिक अभियानकर्मी कल्पना उपाध्याय हुनेले नहुनेलाई देखाउने गलत संस्कारले कमजोरहरु सधैँ पीडामा रहने गरेको बताउनुभयो । “समाज बिग्रेकै हुनेखानेले गर्ने तडकभडकले हो । हुनेले बढी खर्च गरेर देखाउँदा आर्थिक अवस्था कमजोर भएकाहरुको घरमा अशान्ति हुन्छ”, उपाध्याय भन्नुहुन्छ, “समाजमा बस्नेले यस्ता कुरामा ध्यान दिन आवश्यक छ । धनीले गरिबलाई दिएर बाडीचुँडी खानुपर्छ ।” उहाँका अनुसार समाजमा सबैलाई ध्यानमा राखेर चाडपर्व र संस्कृति मनाउन आवश्यक हुन्छ ।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सङ्क्रमण समुदायस्तरमै फैलिँदै गएकाले विद्यालय चल्ने नचल्ने अझै निश्चित नभएको बताउनुभयो । “अनलाइन कक्षा पनि प्रभावकारी छैन, विद्यालयमा भीडभाड गरेर विद्यालय चलाउनु भन्न पनि सकिएको छैन”, अवस्थी भन्नुहुन्छ, “विद्यालय नचलेका कारण धेरैको रोजगार गुमेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !