६ बैशाख २०८१, बिहिबार

सामुदायिक वनमा ब्यारेक नराख्न रक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण


सामुदायिक वनमा ब्यारेक नराख्न रक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण

काठमाडौँ, ६ साउन । नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ । स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ ।

समाजका अध्यक्ष रामशरण प्याकूरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोबारे ध्यानाकर्षण गराएपछि रक्षामन्त्री पोखरेलले सोबारे स्थानीय निर्वाचित जनप्रतिनिधिमूलक निकाय र प्रशासन बुझेर जानकारी गराउन मन्त्रालयका सचिवमार्फत नेपाली सेनालाई निर्देश गरिने बताउनुभयो । उहाँले सेनाले स्थानीय सम्बन्धित पक्षको परामर्श र आफ्नो रणानीतिक आवश्यकताका आधारमा ब्यारेक वा तालीम केन्द्र खोल्ने वा सार्ने भएको पनि स्पष्ट गर्नुभयो ।

बट्टारस्थित बारही वनमा ऐतिहासिक महत्वको लिच्छविकालीन बाराही मन्दिर रहेको छ । सो मन्दिरमा स्थानीय नेवार समुदायले विवाह, पास्नी, गुफा संस्कारपछि पुजाआजा गरी पारिवारिक जमघट गर्दै आएकाले त्यहाँ सेनाका तालिम केन्द्र नराख्न समाजले आवाज उठाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !