८ बैशाख २०८१, शनिबार

पार्वतीकुण्डमा १०८ धारा निर्माण


रसुवा, १ असोज । हिमालयकी पुत्री पार्वतीमाता विराजमान रहनुभएको पवित्र कुण्डमा स्नानका लागि धारा निर्माण गरिएको छ । पार्वती माताको दर्शन गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ । पवित्र तीर्थ संरक्षण कार्यक्रमअन्तर्गत स्नानका लागि सहज पार्दै कुण्डको जलले निकास लिएका स्थानमा १०८ धारा निर्माण गरिएको कुण्ड संरक्षण समितिले जनाएको छ ।

एकातिर प्रचारप्रसारको कमी र अर्कातर्फ बोझोले भरिन गई ओझेलमा परिरहेको कुण्ड संरक्षणका लागि वाग्मती प्रदेश सरकारले गरेको रु एक करोड आर्थिक सहयोगबाट सम्भव भएसम्मका प्रायः सबै स्थानको बोझो हटाउनाका साथै धारा निर्माण भएको समाजसेवी पेम्बा तामाङले जानकारी दिनुभयो ।

समुद्री सतहबाट करीब दुई हजार पाँच सय पचास मिटर उचाइमा पर्ने आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ गतलाङ गाउँको शिर सोम्दाङ मार्गमा अवस्थित पार्वतीकुण्डमा मोटरबाटै सहज यात्रा गर्न सकिन्छ । सदरमुका धुञ्चेबाट उत्तरपश्चिम ३० किमीमा पर्ने पार्वतीकुण्डमा जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यता रहेको पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

गोसाइँकुण्ड र पार्वती कुण्डमा स्नान तथा पूजाआजापछि दुवै कुण्डबाट ल्याइने पवित्र जल धैबुङस्थित कालिका मन्दिरमा चढाउनुपर्ने मान्यतासमेत रहेको पुरोहित ढकालको भनाइ छ ।

धारा निर्माण तथा कुण्डमा भरिएका बोझो सफा गर्न प्रदेश सरकारले रकम उपलब्ध गराएको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीले धार्मिक लाभ लिने साझा तीर्थ पार्वती कुण्डमा प्रत्येक वर्ष बुद्धजयन्ती तथा जनैपूर्णिमा पर्वका अवसरमा विशेष मेला लाग्छ ।

राजधानी काठमाडौँको ग्वङ्गबँु बसपार्कदेखि नागढुङ्गा, गल्छी, देवीघाट, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ भञ्ज्याङ हँुदै १७० किमी पार गर्दै सहजरूपले पार्वतीकुण्डको यात्रा गर्न सकिने बताइएको छ ।

निकुञ्जका जङ्गलमा गस्ती तीव्र
वनजङ्गलको संरक्षणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गस्तीलाई तीव्र पारिएको छ । वर्षायामको सुनसान समयमा हुन सक्ने अवैध क्रियाकलाप रोक्न नेपाली सेना कालीजङ्ग गण र निकुञ्जका कर्मचारीद्वारा संयुक्तरूपमा जङ्गलको गस्तीलाई थप तीव्रता दिइएको बताइन्छ ।

वर्षायाममा वनस्पतिको नोक्सान गर्न नसके पनि अवैध धन्दाका व्यक्तिले वन्यजन्तुको शिकार गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी जनावरले बास लिने प्रमुख क्षेत्रका साथै जङ्गल पस्ने गौँडामा विशेष निगरानी भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च भूभागमा पर्ने एक हजार ७१० वर्ग किलोमिटर संरक्षित र ४२० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र निकुञ्जको आधार इलाकामा रहेको छ । वनस्पति, वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि सहभागितामूलक तरिकाले मध्यवर्ती क्षेत्रमा संरक्षणका चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो ।
गोसाइँकुण्ड, लाङ्टाङ तथा हेलम्बु क्षेत्रको पर्यटकीय पदमार्गमा संरक्षणका सन्देशमूलक सूचनापाटी राखिनेसमेत निकुञ्ज कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !