८ बैशाख २०८१, शनिबार

कञ्चनपुरमा वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता लकडाउन


जिल्ला प्रशाशन कार्यालय कञ्चनपुर

कञ्चनपुर । कोरोनाको सङ्क्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा एक साताका लागि लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमाहल, पार्टीप्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, जिमखाना, खेलकूद, पुस्तकालय, सङ्ग्रहाय आदि सञ्चालन गर्नमा रोक लगाएको छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय बन्द गरिनेछन् । तरकारी, फलफूल, तथा खाद्य सामग्रीका पसल व्यवसाय जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गर्ने गरी बिहान ६ देखि ९ बजेसम्म सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएको छ ।

अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा स्थगन गरिएको छ । अत्यावश्यकीय वस्तु तथा सेवा (एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, इन्धन, खाना पकाउने ग्यास, दूध तथा दुग्धजन्य पदार्थ, औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा, अस्पताल जाने आउने बिरामीका लागि प्रयोग गर्ने सवारी साधन, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टर, क्वारेन्टिन, आइसेलेशन, फोहरमैला व्यवस्थापन लगायत) का ढुवानी तथा यातायात साधन सञ्चालन गर्न दिइने बैठकको निर्णय रहेको छ । यसबाहेकका अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्नमा भने नपाइने निर्णय गरिएको छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्था एवं अत्यावश्यक काम तथा विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको सवारी पास लिई सवारी साधनको प्रयोग गर्न पाइने छ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधरमा आवतजावत गर्न सकिने छ । विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिएर मात्र गर्न पाइनेछ ।

भारतबाट कञ्चनपुरको नाका हुँदै नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकका हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन, आइसोलेशनमा बस्नुपर्ने छ । जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थायनीय तहको समन्वयमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेउपर प्रचलित कानूनबमोजिम कारवाही हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !