७ बैशाख २०८१, शुक्रबार

अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

लहान, १ भदौ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो ।

सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिनुभयो ।

औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए । यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !