७ बैशाख २०८१, शुक्रबार

कुन ऋतुमा के खाने, के नखाने भन्नेबारे जानी राखौं


खानेकुरासंग के मिसाएर खानु हुँदैन

आयुर्वेद मत अनुसार बर्षमा ६ ऋतु पर्दछन् । हरेक ऋतु अनुसार खानपानको महत्व धेरै भएको हुन्छ । आयुर्वेदमा यस्ता ऋतुहरूलाई प्रमुख स्थान दिइएको हुन्छ । यस्ता ऋतु निम्न छन् : शिशिर ऋतु, बसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु र हेमन्त ऋतु । यी ऋतुहरूमा हामीले के खाने, के नखाने भन्ने कुरा जान्न आवश्यक छ ।

हामीले कुन ऋतुमा के खाने, के नखाने कुरा तल दिइएको भएतापनि यो ऋतुमा खाइने खानामा विषेश ध्यान दिन आवश्यक छ । यदि हामीले ऋतु अनुसार खानपानमा ध्यान दिन सक्छौं भने रोग लाग्ने सम्भावना निकै कम रहेको हुन्छ ।

१. शिशिर ऋतु (माघ, फाल्गुन)

यो मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन । यदि गरिन्छ भने यसले पेट सम्बन्धित र छाती सम्बन्धित रोग लाग्न सक्ने देखिएको छ ।

२. बसन्त ऋतु (चैत्र, वैशाख)

यो मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, भेण्टा, मुला, परवल, करेला खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जिरा, हिंग, काक्रा आदि लाभदायक हुन्छ ।

३. ग्रीष्म ऋतु (जेष्ठ, आषाढ)

पुरानो गहुँ, जौ आदिको प्रयोग गर्नुपर्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

४. वर्षा ऋतु (श्रावण, भाद्र )

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यो सिजनमा पाचन शक्ति कमजोर हुने हुनाले खाना खाँदा विशेष ध्यान दिनुपर्छ । त्यसैले चाँडो नपच्ने एवं मसला, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

५. शरद ऋतु (आश्विन, कार्तिक)

यो ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागती, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

६. हेमन्त ऋतु (मंसीर,पुस)

यो ऋतुमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ । यसरी खाएको खानाले मानव स्वास्थ्यमा राम्रो फाइदा हुने गरेको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !