७ बैशाख २०८१, शुक्रबार

दशैँ, तिहारमा ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल


पसल

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय रूपमा कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य वृद्धि

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो ।

सङ्घको विज्ञप्तिअनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मे महिनामा प्रति मेट्रिक टन १३६३ डलर पुगेको छ । यस्तैगरी, प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मे महिनामा मा १४९५ डलर पुगेको छ ।

एक वर्षमा असामान्य रूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको सङ्घले जनाएको छ । यस्तै सङ्घले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ । अर्जेन्टिनाको क्रुड सोयाबिन तेलको मूल्य घटेर १०९५ र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य ११६० भएको थियो ।

सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्टक रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ ।

“अन्तर्राष्ट्रियरूपमा नै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो । गत अगष्ट २० को रिपोर्टअनुसार सोयाबिन तेल १३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य १३३० अमेरिकी डलर भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायका रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन् । विभागले केही समयअघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो ।

नेपालमा हाल २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योग सञ्चालित अवस्थामा छन् । सो उद्योगले तेलका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट आयात गर्दै आएका छन् । नेपालमा तेल प्रशोधन गरी उद्योगीले अन्य देशमा समेत निर्यात गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !