१३ बैशाख २०८१, बिहिबार

प्रकृतिका ४ नियमलाई पालना गरौं : शरिरमा रोग लाग्दैन

स्वास्थ्य रहन पालना गर्नुपर्ने प्रकृतिका ४ नियमहरु


पानी पिउदै सुन्दर केटी

आयुर्वेदको नियम अनुसार वाथ, पित्त र कफलाई रोक्न सकिन्छ भने शरीरमा कुनै पनि रोगको आक्रमण हुन सक्दैन । मानिस रोगी हुनुको मुल कारण भनेकै वाथ, पित्त र कफ हुन् । यदि जीवनमा कुनै पनि रोग नलागोस् भन्ने सोच भएमा प्रकृतिको नियमलाई पालना गर्नु पर्दछ ।

आउनुस् आज यिनै विषयमा चर्चा गरौं । वाथ, पित्त र कफ जब बिग्रन थाल्दछ तब रोगको शुरु हुन थाल्दछ । यस्तो नहोस् भन्नाका लागि हामीले प्रकृतिको नियमलाई पालना गर्न सिक्नु पर्दछ । मानिस स्वस्थ हुनका लागि प्रकृतिले चार नियम पालना गर्न भनेको छ ।

हामीले यदि यी चार नियम पालना गर्छौं भने शायद जीवनमा कुनै पनि रोगको आक्रमण हुनबाट रोक्न सकिने छ । म प्राय: यी नियमको पालना गर्ने गर्दछु । हरेक व्यक्तिले चाहेमा आजैबाट यो नियमको पालना गर्नुस् यो मेरो ग्यारेन्टी भयो हजुरलाई कुनै पनि रोगले सताउने छैन ।

यस्ता हरेक नियम छन् जुन मानिसले पालना गर्न सकिरहेको हुदैन । स्वस्थ शरीर भनेकै रोग लाग्नुबाट आफुलाई बचाउनु हो। स्वस्थ रहन हामीले खानपान रहन सहनमा समेत परिवर्तन गराउन सक्नुपर्छ । पानी कतिबेला पिउने, खाना कतिबेला खाने, कति बेला सुत्ने, पानी कस्तो सेवन गर्ने आदि इत्यादि कुरामा हामीले ध्यान दिन सकेको खण्डमा हामीलाई कुनै पनि रोगले आक्रमण गर्न सक्ने छैन ।

आउनुस् आजको लेखमा स्वस्थ रहन चार नियम कस्ता छन् र यी नियमले मानिसलाई कसरी बचाउन सक्दछन् भन्ने कुरा जान्ने प्रयत्न गरौं ।

पहिलो नियम

हरेक मानिसको चाहना पनि यही हो कि शरीरमा कुनै पनि रोगले आक्रमण नगरोस् यसका लागि हामीले पहिलो नियम सौचादी गर्नुपूर्व कम्तीमा ४ गिलास पानी नित्य पिउने गरौं । यसले हामीलाई खुलस्त तरिकाले पेट सफा गर्न मद्दत गर्नेछ ।

दोस्रो नियम

खाना खानु भन्दा ४० मिनेट अगावै पानी सेवन गर्न सक्नुपर्छ वा खानाको ४० मिनेट पछि मात्र पानी पिउनु पर्दछ । यसले पाचन क्रियालाई राम्रो मद्दत गर्नेछ । हामीले खाना खाँदा सकेसम्म पानीको सेवन गर्नु भनेको बिष समान हुनसक्छ । हामीले खाएको खाना जब पेटमा पुग्छ तब त्यहाँ भएको अग्निले खाना पचाउन मद्दत गरेको हुन्छ । यदि हामीले खानासाथ पानी पिउने गर्छौं भने यसले पाचन क्रियामा समेत असर हुन गई पेट सम्बन्धि रोग लाग्न थाल्दछ ।

यदि हामीले खाना खाने बित्तिकै पानी पिउछौं भने हामीले खाएको खाना नपच्नाले ग्यास्ट्रिक, अल्सर जस्ता रोगले हामीलाई असर गर्न सक्छ । खाना खाँदा पानीको सट्टा फलफूलको रस, मोही, कागती पानी पिउन सक्छौं यसले पाचन क्रियामा कुनै व्यवधान पुर्याउन सक्दैन ।

तेस्रो नियम

हामीले हमेसा पानी मन तातो पिउने बानी बसाल्नु पर्दछ । यसरी पिएको पानीले पित्त बन्नबाट रोक्दछ । पशुले कहिलै चिसो पानी सेवन गर्दैन । चिसो पेय पदार्थको अत्यधिक सेवनले बाथ, पित्त प्रकुपित भई श्वास प्रश्वास र वाथको रोग उत्पत्ति हुन थाल्दछ ।

अब गर्मी लाग्दैछ फ्रिजको पानी र फ्रिजमा राखेका अरु पदार्थ सकेसम्म नपिउनु राम्रो हुनेछ । यस्ता पेय पदार्थको सेवनले वाथ, पित्त र कफको उत्पत्ति गराउनाले अनेकौं रोगको आक्रमण हुन थाल्नेछ । अब हजुरले प्रश्न गर्नु होला । गर्मीमा पानी कस्तो पिउने सकेसम्म माटाको घैटामा राखेको पानी पिउने गर्न सक्नु हुन्छ ।

चौथो नियम

योग गर्नुस् जति सक्नुहुन्छ । योगको माध्यमबाट हामीले आफ्नो स्वास्थ्यलाई सहि दिसामा मोड्न सक्ने छौं । शरीर स्वस्थ राख्न योगको मह्त्व ठूलो छ । योगको माध्यमबाट पाचन तन्त्रलाई समेत राम्रो फाइदा पुर्याउने गरेको हुन्छ । योगद्वारा अनेकौं रोगबाट हामीले शरीरलाई बचाउन सक्नेछौं । योग गरिसके पछि हल्का मनतातो पानीले नुहाउने र हल्का मनतातो पानी नै सेवन गर्ने बानी बसाल्नु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !