, खानका लागि कुन तेल ठीक ?

खानका लागि कुन तेल ठीक ?

काठमाडौ, १२ भाद्र । मलाई धेरैले एउटा साझा प्रश्न सोध्ने गर्छन्– ‘कुन खानेतेल स्वास्थ्यका लागि ठीक होला ? ’ धेरै मानिस तेल, घिउ, बोसोलगायतका चिल्लो खाद्यपदार्थ र कोलेस्ट्रोलका बारे भ्रममा परेका देखिन्छन् ।

गृहिणीहरुलाई भान्सामा दिनदिनै खाना पकाउन कुन तेल प्रयोग गर्नुपर्ला भन्नेबारे खासै ज्ञान छैन । धेरैजसोले कतै सुनेको भरमा सूर्यमुखीको तेल प्रयोग गरेको देखिन्छ । किन सूर्यमुखी तेल प्रयोग गरेको भनी सोध्दा ‘यसमा कोलेस्ट्रोल हुँदैन, यस कारण मुटुलाई फाइदा गर्छ’ भन्ने जवाफ दिन्छन् ।

उता टेलिभिजनको पर्दामा ‘तोरीको तेलले मुटु बलियो बनाउँछ’ भन्ने खालको विज्ञापन पनि देखिन्छ । बजारमा किन्न जाँदा सूर्यमुखी तेलको सिसीमा ठूलो–ठूलो अक्षरले ‘शतप्रतिशत कोलेस्ट्रोल फ्री’ लेखिएको देखेपछि यो नै स्वास्थ्यवद्र्धक रहेछ भन्ने लाग्छ । यस्तै प्रकारले ओलिभ, मकै, भटमास, नरिवल, बदामलगायतका तेलहरु पनि आकर्षक बोतलमा देख्न पाइन्छ, जसका कारण उपभोक्ताहरु यो किन्ने कि त्यो किन्ने भनी अन्यौलमा पर्छन् ।

खानेतेल उत्पादकहरुले नाना थरी आकर्षक विज्ञापनहरु गरेर आ–आफ्नो उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, शतप्रतिशत कोलेस्ट्रोल फ्री छ, मुटुलाई बलियो बनाउँछ, हार्ट अट्याक हुनबाट बचाउँछ जस्ता सन्देशहरु आमजनतामा पुर्‍याउने प्रयास गरिराखेका देखिन्छन् । चिकित्सक र अनुसन्धानकर्ताहरुले पनि यिनै तेल उत्पादकहरुको प्रभावमा परेर वनस्पति तेलको बढी सिफारिस गरेको पाइन्छ ।

यति धेरै थरी तेलहरुमध्ये कुनचाहिँ बढी स्वास्थ्यवद्र्धक छ, गृहिणीहरुले दिनदिनै खाना पकाउन कुन तेल प्रयोग गर्ने, यी तेलहरुका फाइदा–बेफाइदा के–के हुन्, तेल–घिउजस्तो चिल्लो खाद्यपदार्थले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो वैज्ञानिक अवधारणा के छ भन्नेबारे यहाँ छोटकरीमा वर्णन गरेको छु ।

तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । शरीरमा चिल्लो पदार्थ मुख्यरुपमा ‘ट्राइग्लिसेराइड’ को रुपमा रहेको हुन्छ । यो ऊर्जाको स्रोत हो । यसका साथै चिल्लोमा मात्र घोलिने भिटामिन ‘ए’, ‘डी’ ‘ई’ र ‘के’ लाई खानाबाट सोस्ने अनि शरीरका विभिन्न भागमा पु¥याउने काम यसैले गर्छ । कोषिकाहरु स्नायु प्रणाली र केही हर्मोनहरुको निर्माणमा चिल्लो आवश्यक पर्छ । तेल तीन अणु ‘फ्याटी एसिड’ र एक अणु ‘ग्लिसेरोल’ मिलेर बनेको रासायनिक पदार्थ हो । तेलमा पाइने पौष्टिक तत्वहरुमा फ्याटी एसिडहरु र भिटामिन ‘ई’ मुख्य हुन् ।

फ्याटी एसिडहरु चार प्रकारका हुन्छन्– स्याचुरेटेड, मोनोअनस्याचुरेटेड, पोलिअनस्याचुरेटेड र ट्रान्स । हामीले सुन्दै आएका ओमेगा–३, ओमेगा–६ र ओमेगा–९ यिनै चार प्रकारका फ्याटी एसिडहरुमध्येका हुन् । तेलको प्रकार हेरीकन यी पौष्टिक तत्वहरु पनि कम–बेसी हुन्छन् । उदाहरणका लागि सूर्यमुखी तेलमा पोलिअनस्याचुरेटेड फ्याट र ओमेगा–६ को मात्रा बढी हुन्छ भने तोरी र ओलिभ तेलमा मोनोअनस्याचुरेटेड फ्याट र ओमेगा–३ को मात्रा बढी हुन्छ । नरिवल तेल र घिउमा स्याचुरेटेड फ्याट बढी पाइन्छ । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।