१३ बैशाख २०८१, बिहिबार

विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरब भिड्ने


2018-Russia-World-Cup

३१ जेठ, एजेन्सी । विश्वकप फुटबल विहीबार रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् ।

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोबी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । रोनाल्डोले २ पटक विश्वकपको ट्रफी ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपाली समय अनुसार उद्घाटन समारोह ८ बजेर १५ मिनेटमा सुरु हुनेछ । उद्घाटन समारोह हेर्न करिब ८० हजार दर्शक आउछन् ।

करिब आधा घण्टासम्म चल्ने उद्घाटन कार्यक्रमपछि नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ ।

रसियाले २१औं संस्करणको विश्वकप फुटबल पहिलो पटक आयोजना गर्न लागेको हो । जुन १५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक रसियासँगै, समूह ए मा साउदी अरब, इजिप्ट र उरुग्वे रहेका छन् । त्यस्तै, समूह बि मा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन् ।

समूह सि मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् भने समूह डि मा अर्जेन्टिना, आइसल्याण्ड, नाइजेरिया र क्रोएसिया रहेका छन् । त्यस्तै, समूह ई मा ब्राजिल स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् ।

त्यस्तै, समूह एफ मा विश्व विजेता जर्मनीसँगै, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । समूह जि मा इंग्ल्याण्ड, बेल्जियम, पानामा र ट्युनिसिया रहेका छन् भने समूह एच मा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् ।

आयोजक रसियाविरुद्ध साउदी भिड्दै्

1. Russia Vs Saudi

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेवियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। आयोजकका लागि यो विश्वकपमा दोस्रो चरणमा पुग्नुलाई नै ठूलो सफलताका रूपमा हेरिएको छ। यसअघि तीन पटक विश्वकप यात्रा गरे पनि रसियाले समूह चरण पार गर्न सकेको छैन।

रुस विश्वकपको दोस्रो चरण पुग्न असफल भए आयोजकको नाताले समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि रुस दोस्रो देश हुनेछ। विश्वकपमा सहभागी ३२ देशको तुलनामा सर्वाधिक कमजोर टिमका रूपमा हेरिएको रुस र साउदीको भिडन्त पहिलो जितका लागि दुवै टिमलाई ‘गर या मर’का रूपमा रहेको छ।

रसिया र साउदी अरेवियालाई समान स्तरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ। साउदीले विश्वकप अघिखेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो। साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ। त्यसोत घरेलु टिमले गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो। यद्यपि अन्तिम मैत्रिपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ। तर उसले खेलेका अघिल्ला कुनै पनि सात मैत्रिपूर्ण खेलमा जित ननिकालेकाले चुनौती स्वभाविक रुपमा आयोजकलाई बढी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !