७ बैशाख २०८१, शुक्रबार

को हुन् म्याच फिक्सिङ पर्दाफास गर्ने महानिरीक्षक सर्वेन्द्र खनाल ?


सर्वेन्द्र खनाल

२०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका सर्वेन्द्र खनालले रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै महानिरीक्षक (आइजीपी)मा नियुक्ति हुनु भएको हो । सरकारले नेपाल प्रहरीको २६ औं महानिरीक्षकको भूमिकामा खनाललाई बढुवा गरेको हो ।

२०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गर्नुभएको थियो । प्रहरी सेवामा भर्ना हुँदा उहाँ एक नम्बरमा उत्तीर्ण हुनु भएको थियो । उहाँले जनप्रशासनमा स्नातकोत्तर (एमपीए) गर्नु भएको छ ।  कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र  र वरिष्ठताको आधारमा एक नम्बरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो । गुण्डा नाईकेको इन्काउन्टर, फुटबल म्याच फिक्सिङ प्रकरण, जमिम शाहको हत्यारा पक्राउ लगायत केहि घटनाको सफलताले उहाँ एकाएक चर्चाको शिखरमा पुग्नु भएको हो  ।

उहाँका केहि चर्चित सफलता यस प्रकार छन् :

  • २०६० सालमा एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डको खनालले नै पर्दाफास गरी ज्यान लिने चन्द्रबहादुर पहरीलाई करिब १२ बर्षपछि पक्राउ गर्नु भएको थियो ।
  • अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिनु भएको थियो । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गर्नु भएको छ ।
  • खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख बन्नु भएको थियो । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर समेत गर्नु भएको थियो ।
  • म्याच फिक्सिङ गर्नेको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो। २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जित्यो। खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो।
  • सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे ।
  • जनकपुर, पर्सा लगायतका तराइका नमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उहाँले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गर्नु भयो । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उहाँ भारतको समेत पुरस्कार पाउनु भयो । उनले नेतृत्व समालेपछि अपराध महाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गर्नु भएको थियो ।
  • नाकाबन्दीमा कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव पनि सर्वेन्द्रलाई पनि छाड्नु भएन। लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाउनु भएको थियो ।
  • त्यस्तै, उहाँको नेतृत्वमा काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास भएको थियो । त्यसबेलाको अप्रेशनका कारण थुप्रै कन्सल्टेन्सी व्यवसायीहरु वैधानिक बाटोमा आएका थिए । प्रहरीले अप्रेशन चलाउनुअघि काठमाडौंमा १ सय ३० वटा कन्सल्टेन्सी मात्र वैधानिक रुपमा दर्ता भएकोमा अप्रेशनपछि ११ सय कन्सल्टेन्सी दर्ता भएका थिए ।

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गराएर ब्यवस्थित बनाउनु भएको हो ।

सडकका खाल्डाखुल्टी पुर्ने अभियान, चक्रपथ सुधार र सरसफाइ अभियान तथा  राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गर्नुभएको छ ।

खनालकै पहलमा १० वर्षदेखि बिग्रिएका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् । एकपछि अर्को सफलता हात पर्दै महानिरीक्षक बन्नुभएका खनालको आगाडी धेरै चुनौती रहेको छ र ती चुनौती सामना गरेर आगाडी बढ्न सकेको खण्डमा उहाँ सफल महानिरीक्षकको नाम दर्ता गर्न सक्नुहुनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !