
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज आइतबार प्रहरी महानिरीक्षक थापाले शुभकामना दिंदै बिदाई गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले आयुषलाई प्रशंसा पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उपाधिको जित्नको लागि शुभकामना समेत दिएका छन् । उक्त कार्यक्रममा नेपाली प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी रमेश थापाको समेत उपस्थिति रहेको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा-१४ का दुलाल विश्वमाझ नेपालमा प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने लागेका हुन् ।
दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए । युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन् ।
आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी दुलालले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । काभ्रेका लोकप्रिय फुटवल खेलाडी समेत रहेका आयुषले अष्ट्रेलियाबाट व्यवसायिक खेल समेत खेलिसकेका छन् ।
उनले यो प्रतियोगिता केवल फेशन वा लुक्सको प्रतिस्पर्धा मात्र नभएर शिक्षा, सामाजिक नेतृत्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान भएकोले यस प्रतियोगितामा नेपालले अघिल्ला संस्करणमा राम्रो छवि बनाएकोले यस वर्ष पनि उपाधिको धेरै आशा गरिएको छ ।