१० चैत्र २०८१, आइतबार

एलिनाको विष्णुसँग कानुनीरूपमै सम्बन्धविच्छेद


एलिनाको विष्णुसँग कानुनीरूपमै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । आज मंगलबार गायिका चौहानले कानुनीरूपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् । उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’ उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ ।

“प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” एलिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”

एलिनाले गत माघ १८ गते जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । झापाकी एलिनाले २०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !