
काठमाडौं । अभियन्ता आशिका तामाङलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आज शुक्रबार भक्तपुर जिल्ला अदालतले तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रव गरेको कसुरमा दायर मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले तामाङलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित साँगा झोलुंगे पुलमा प्रवेश गर्ने व्यक्तिहरूसँग २० रुपैयाँ कर संकलन गर्ने सूर्यविनायक नगरपालिकाको निर्णयविरुद्ध उनले आवाज उठाउने क्रममा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोमा उनीविरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
कर्मचारीबाट खोसेर उनले कर संकलनको रसिद जलाइदिएकी थिइन् । त्यस्तै सूर्यविनायक नगरपालिकाको जाहेरीमा प्रहरी वृत्त जगातीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
नगरपालिकाले आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको थियो ।
यद्यपि माघ १४ गते आशिकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेकै दिन उनलाई काठमाडौंबाट भक्तपुर लगिएको थियो ।
अभिनेत्रीसमेत रहेकी तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन् । उनका कार्यशैली विवादमा पनि पर्दै आएका छन् ।