७ बैशाख २०८१, शुक्रबार

कस्तो छ हलमा प्रदर्शन भइरहेको चलचित्र ‘लाखे’ ?


चलचित्र ‘लाखे’

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । सिजन अर्यालले तयार गरेको कथा बदलाको भावमा छ ।

समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उनको श्रीमती सीमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाए । यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउछन् ।

नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ ।

के पैसा मनोजले लुकाए? उनी जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाएका हुन् ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ ।

विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए । “फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ-आफ्नो भूमिकामा फिट छन”, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, “यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।”

फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताए । “विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ”, निर्देशक बस्नेतले भने ।

करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !