७ बैशाख २०८१, शुक्रबार

मिरुना मगर र प्राविधिक ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता


मिरुना मगर र फुर्वा साङ्मो तामाङ

काठमाडौं । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

फुर्वाले हिजो साउन ११ गते दायर गरेको मुद्दामा कानुन बमोजिम सजायको माग गरेका छन् । माफी माग्ने सवालमा पटक-पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारबाही माग गरिएको छ । उनले अभिनेत्री र प्राविधिक दुबैले पुनः माफी माग्नु पर्ने फुर्वाले उजुरीमा उल्लेख गरेका छन् ।

गत जेठ १५ गते काठमाडौँको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । सहमति भएको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिएका छन् ।

उजुरीको आधारमा मिरुना र ठकुरीलाई २१ दिने म्यादसहित यस आरोपमा आफ्नो भनाई राख्नका लागि अदालत हाजिर हुन पत्र पठाइने छ । यदि तोकिएको समय अवधिमा हाजिर नभएमा पुन २१ दिनको म्याद थपिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !