६ बैशाख २०८१, बिहिबार

भुवन केसीले बाजी मारे चलचित्र विकास बोर्डको अध्यक्ष पद


भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित केसीले अध्यक्ष पदका लागि १० जनामध्ये अन्य ९ जनालाई पछि पार्दै चलचित्र विकास बोर्डको अध्यक्ष पद बाजी मारेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

१० जना उम्मेदवारहरूमध्ये अभिनेता केसी र सम्झना उप्रेती रौनियार मुख्य दाबेदारका रूपमा हेरिएको थियो । तर अन्तिममा आएर सम्झनालाई पछि पार्दै भुवन दयाराम दाहालको कार्यकाल सकिएपछि उक्त कुर्सीमा बस्न सफल भएका हुन् ।

केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष बनाउने ग्रिन सिग्नल दिएका थिए भने कांग्रेस नेता प्रकाशमान सिंह निकट मानिने निर्देशक उप्रेतीले पनि अध्यक्ष बन्न लबिङ गरेकी थिइन् ।

आकांक्षी उम्मेदवारहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीकी पत्नी डा. आरजु राणा देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका अन्य शक्तिकेन्द्र धाएर बोर्डको अध्यक्ष बन्ने दौडधुपमा गरेका थिए । कतिपय चलचित्रकर्मीहरूले त विकास बोर्डको अध्यक्ष बन्ने सर्तमै भुवनले पार्टी प्रवेश गरेको पनि बताउने गरेका थिए ।

केही समय अघि मात्र नेपाली कांग्रेस प्रवेश गरेका केसीले भित्री रुपमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर अध्यक्षका लागि लबिङ गरेको उनका आलोचकहरुले बताएका थिए । कांग्रेस प्रवेश गरेका केसीलाई प्रधानमन्त्री देउवाले बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएको चर्चा चलेको थियो ।

साढे तीन महिनाअघि केसीले स्वागत नेपाल अध्यक्ष रहेको दल उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर विभिन्न कारणले आफू काठमाडौंको मेयर पदमा उठ्न असमर्थ भएको भन्दै केसी पछि हटेका थिए ।

गायन हुँदै अभिनय क्षेत्रमा प्रवेश गरेका केसीले पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अघि मात्र नेकपा एमाले छोडेर नेपाली काँग्रेस प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !