८ बैशाख २०८१, शनिबार

अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश


पल शाह

कास्की । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा आज उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पोखराका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने, “प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन ।”

अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा ३ महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा छन् । कारागार चलान गर्ने तनहुँ जिल्ला अदालतको फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए । शाहलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग उनीहरुको थियो ।

उच्च अदालतमा सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गरेका थिए ।

यसैगरी सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !