११ बैशाख २०८१, मंगलबार

लगभग ५० वर्षको उमेरमा करिश्माले गरिन् १२ कक्षा पास


करिश्मा मानन्धर

काठमाडौं । नायिका करिश्मा मानन्धरले १२ कक्षा पास गरेकी छन् । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्माले २.४१ जीपीए ल्याएर १२ कक्षा पास गरेकी हुन् ।

काठमाडौंको गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी उनले दुई विषयमा ए प्लस ग्रेड समेत ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज मात्र प्रकाशित गरेको थियो ।

कोरोना महामारीका कारण कलेजहरु सञ्चालन हुन नसकेपनि उनले अनलाइन क्लास लिएरै २.४१ जीपीए ल्याउन सफल भएकी हुन् । कक्षा १२ नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अवको थप अध्ययन पनि सोही कलेजमा गर्ने बताएकी छन् ।

लगभग ५० वर्षको उमेरमा करिश्माले १२ कक्षा पास गरेकी हुन् । नेपाली विकिपिडिया अनुसार उनको जन्म मिति सन् १९७१ लेखिएको छ भने अंग्रेजी विकिपिडिया अनुसार उनको जन्म दर्ता अनुसार जन्म मिति फेव्रुवरी १४, १९७२ लेखिएको छ ।

पढ्नलाई कुनै उमेरको हदबन्दी छेक्दैन भनेर उनले सावित गरेर उनी पढ्ने इच्छा भएका तर स्कुल, कलेज जान नसकेकाहरुको लागि प्रेरणाको स्रोत समेत भएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !