४ बैशाख २०८१, मंगलबार

कोरोनाले बन्द भएका सिनेमा हल करिब दुई वर्षपछि खुले


फिल्म हल

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण बन्द भएका सिनेमा हलहरू हिजो बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्याह्न १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो ।

मुख्य मल्टिप्लेक्स चेन क्युएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौँ शृंखला र नोबडी प्रदर्शन गरेको छ ।

कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरू खुलाउन अनुमति दिएको थियो । यसपछि चलचित्र संघले हल खुल्ने जानकारी गत मंगलबार दिएको थियो । यद्यपि, नयाँ चलचित्र भने दर्शकले हेर्न पाउनेछैनन् ।

फास्ट एन्ड फ्युरियसलाई दर्शकले डिजिटल प्लेटफर्ममै हेरिसकेका छन् । त्यसैले गर्दा पहिलो दिन दर्शकको उपस्थिति कम छ । त्यसो त दसैँअगाडिको समयमा सिनेमा हलमा दर्शक तान्ने फिल्म नभएसम्म भिडभाड कम नै रहने गर्छ ।

२६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाई रिलिज हुँदै छन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !