८ बैशाख २०८१, शनिबार

आजबाट काठमाडौं उपत्यकामा सिनेमा हल खुल्ने, प्रदर्शन गर्ने फिल्म नै छैनन्


फिल्म हल

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सिनेमा हल खुल्ने भएका छन् । कोरोना महामारीको कारण कोभिड-१९ को जोखिमका कारण बन्द गराइएका सिनेमा हल आज बिहीबारबाट सञ्चालनमा ल्याउन अनुमति दिइएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको हिजो बुधबार बसेको बैठकले आजबाट सिनेमा हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । शतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन् ।

बैठकले स्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको फिल्म प्रदर्शन (सिनेमा हल) सञ्चालन तथा अनुगमन मापदण्ड २०७७ अनुसार हल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमण देखिनु अगाडि गत २०७६ सालको अन्तिममै बन्द गराइएका हल बीचमा केही समय खुले पनि दोस्रो चरणको कोरोना महामारीका कारण गत वैशाखको पहिलो साताबाट पुनः बन्द गरिएका थिए ।

प्रशासनले हल खोल्न अनुमति दिए पनि निर्माताहरूले फिल्म दिइनहाल्ने भएकाले र हलको सरसफाइ लगायतका प्रबन्ध मिलाउनुपर्ने भएकाले आजैबाट हल सञ्चालनमा भने आउने छैनन् ।

तर, हल सञ्चालकहरु भने सञ्चालनको अनुमति पाए पनि के प्रदर्शन गर्ने भन्ने अन्योलमा छन् । फिल्म हलका सञ्चालकले प्रशासनको निर्णय स्वागतयोग्य भए पनि हलमा प्रदर्शन गर्ने फिल्म नै नभएको बताउँछन् ।

नेपालमा बनेका अधिकांश फिल्महरु प्रदर्शन हुन बाँकी छन् । चलचित्र विकास बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन् । ​तर, प्रदर्शन नभएका अधिकांश फिल्मका निर्माता पक्षले भने कोरोनापछि फिल्म हलहरु खोल्ने बित्तिकै आफ्नो फिल्म प्रदर्शन गर्न मानेका छैनन् ।

दुई वर्षदेखि ठप्प भएको यो क्षेत्रमा आफ्नो फिल्मको लगानी नउठ्नेसँगै भोलि फेरि फिल्म हल बन्द भएमा के गर्ने भन्ने प्रश्न उनीहरुको छ । कतिपय निर्माताले त पहिलो लकडाउनपछि केही दिनलाई सिनेमा हल खुल्दा आफ्नो फिल्म परिस्थिति पूर्णरुपमा सहज नभएसम्म प्रदर्शन नगर्ने बताएका थिए ।

फिल्म हल खोल्ने अनुमति पाए पनि हलमा फिल्म प्रदर्शनमा आउन केही समय लाग्ने बताउँछन् । कोरोना महामारी र पटक-पटकको लकडाउनका कारण विदेशबाट फिल्म ल्याएर प्रदर्शन गर्ने वितरकसँगै हल सञ्चालकहरु सम्पर्कमा छैनन् ।

यस कारण पनि प्रशासनको निर्णयले मात्रै हल नखुल्ने उनी बताउँछन् । कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !