गन्धर्व संस्कृतिका धरोहर गायकको निधन Nepalpatra गन्धर्व संस्कृतिका धरोहर गायकको निधन
२४ फाल्गुन २०७७, सोमबार

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन


धनबहादुर गायक

पोखरा । यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगा¥यो दिमाख
नरोऊ मायालु…
(गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक)
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुुहुन्थ्यो । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनु भएको थियो । उहाँ “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्नुहुन्थ्यो । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो ।

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँकतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो । एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।

सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर
कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य )

पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो । तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ ।

मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो । उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ ।

तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी
धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो । यो उहाँको निकै महत्पूर्ण योगदान हो । उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।

हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका
बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो । उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु