४ बैशाख २०८१, मंगलबार

ढोरपाटनका बाढी प्रभावितलाई सोलार


बागलुङ, ३० भदौ । ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गर्नुभएको हो ।

सासंद पाठकको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३२, ढोरपाटन दैनिकले १५, कुलायन ब्याट्री इन्डष्ट्रिज र टपसन इनर्जी प्रालिले १०÷१० थान सोलार उपलब्ध गराएको सङ्घका सदस्य शर्माले जानकारी दिनुभयो । क्वालिटी रिन्युएवल इनर्जी, एक्सन एक्टिभ इनर्जी, सनवे इनर्जी, ब्राइट भिजन इनर्जी, सिआरसी नेपाल, सफा ऊर्जा, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट, स्काइ इनर्जी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी र स्मार्ट सोलार कम्पनीले पाँच÷पाँच थान सोलार सहयोग गरेका हुन् ।

यस्तै ज्योति इनर्जी र सौर्य इनर्जी प्रालिबाट दुई÷दुई थान सोलार सहयोग आएको हो । बाढी प्रभावितका लागि सोलार जुटाउन ढोरपाटन दैनिकले संयोजन गरेको थियो । नगरप्रमुख देवकुमार नेपाली, वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्ती र वडा नं ८ का अध्यक्ष नन्दे सुनारले सोलार बुझ्नुभएको थियो ।

सो अवसरमा सांसद पाठकले बाढीग्रस्त क्षेत्रमा तत्कालको आवश्यकता बिजुली भएकाले सोलार सहयोग गरिएको बताउनुभयो । “तपाईँहरुको दुःखमा हामी पनि छौँ भनेर ऐक्यबद्धता जनाउन यहाँ आएका हौँ”, सांसद पाठकले भन्नुभयो । उहाँले बाढीबाट क्षति पुगेका घर, सडक, लघुजलविद्युत् अयोजनालगायत भौतिक संरचनाको पुनःनिर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ढोरपाटन दैनिकका सम्पादक गौतमले झण्डै रु १७ लाख बराबरका सोलार सेट सहयोग गरिएको बताउनुभयो । “२० वाटको प्यानल, २० एम्पिएरको ब्याट्रीसहित सेटमा चाहिने सबै सामग्री छ”, उहाँले भन्नुभयो । बीस वाट क्षमताको सोलारबाट तीनदेखि पाँचवटासम्म बत्ती बाल्न मिल्ने जनाइएको छ । नगरप्रमुख नेपालीले अहिले बाढी प्रभावित परिवार बसेको ठाउँमा अस्थायीरूपमा सोलार जडान गरिने र पुनःनिर्माणपछि नयाँ घरमा सारिने बताउनुभयो । उहाँले अन्धकारमा बसेका जनसाधारणलाई सोलारबाट ठूलो राहत मिल्ने बताउनुभयो ।

यही भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटनका ११ वटा लघुजलविद्यत् आयोजनामा क्षति पुर्याएको छ । बिजुली अभावमा मोबाइल टावरसमेत बन्द हुँदा सञ्चार सेवा पनि बिच्छेद छ । वडाध्यक्ष घर्तीले ढोरपाटन क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताउनुभयो । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् । बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हालसम्म झण्डै ६५ लाख नगद राहत उठेको नगरपालिकाले जनाएको छ । लाखौँ मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सहायता सामग्री सङ्कलन र वितरण भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !