१३ बैशाख २०८१, बिहिबार

छ वर्षभित्र जगदुल्ला जलविद्युत् आयोजना


जाजरकोट, ४ जेठ । जगदुल्ला जलविद्युत् आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार जगदुल्ला जलविद्युत् आयोजनाको छ वर्षभित्र निर्माण गर्ने उद्देश्य लिइएको छ ।

आयोजना निर्माणका लागि फागुन २८ गतेबाट मुआब्जा वितरणकार्य शुरु भएसँगै आयोजना निर्माणको गती शुरु भएको हो । अब दोस्रो चरणको मुआब्जा वितरणको कामसमेत छिट्टै शुरु गरने आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४ गते काइगाउँमा वितरण गर्ने भनिएकामा ‘लकडाउन’का कारण रोकिएको छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणकार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको विस्तृत परियोजनाको प्रतिवेदन (डिपिआर) काम पूरा भए पनि लकडाउनका कारण सार्वजानिक गर्न नपाएको आउने प्रमुख सापकोटाले जानकारी दिनुभयो । २० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको थियो । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रुपमा निर्माणकार्य थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जीनियरिङले रु २७ करोडमा लिएको उहाँको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफँै र स्थानीयवासीलाई सेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माणका लागि चैत २ गते बोलपत्र आह्वान भएर छिट्टै काम शुरु हुने आयोजनाले जानकारी दिएको छ । जाजरकोट, रुकुमपश्चिम र डोल्पाको सिमाना त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि आयोजनाले पहल शुरु गरेको छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा कामसमेत आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । काइगाउँमा परीक्षणका लागि चार वटा प्वाल प्रतिप्वाल ३५ मिटरको हिसाबले निर्माण गरी जाँचको काम भएको छ ।

त्यस्तै १६० मिटर जमिनमुनिका दुई प्वाल इलमा निर्माण गरिएको छ । आयोजना निर्माणका लागि आवास र कार्यालय भवन निर्माण बोलपत्र आवह्वानको काम शुरु गर्न लागिएको बताएको छ । अर्धजलाशययुक्त रहेको यो आयोजनाको कूल लागत रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोला दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्य नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

आयोजनाबारे के भन्छन् सरोकारवाला ?

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहलकदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिनुभयो । विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताउनुभयो । भौगोलिकरूपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ ।

आयोजना निर्माणको बाधक बनेको सडक त्रिवेणीदेखि इल हँुदै सर्मी भालु हुँदै काइगाउँसम्म सडक निर्माण गर्नका लागि रु ३७ करोडको बोलपत्र आह्वानका लागि प्रक्रिया शुरु भएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै रु तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भएको उहाँले जानकारी दिनुभयो । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआरको काम शुरु भइ निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने शाहीले जानकारी दिनुभयो । त्रिवेणी, मनमङ र निलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने उहाँको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !