७ बैशाख २०८१, शुक्रबार

कर्णाली जलस्रोत लिमिटेडको साधारणसभा सम्पन्न, साउनदेखि बिजुली बल्ने


कर्णाली जलस्रोत लिमिटेड

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम तीब्र गतिमा भइरहेको जानकारी दिए । राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइरहेको रावतले बताए ।

काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको उक्त आयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइसकेको साधारण सभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रतिवेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजनामा अनुमानित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी ६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् ।

त्यसैगरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभागसँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ शेयरधनी पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !