४ बैशाख २०८१, मंगलबार

प्रचण्ड र कुलमानद्वारा भरतपुरको विद्युतीय तार भूमिगतको कार्य शिलान्यास


प्रचण्ड र कुलमान

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा भरतपुरको विद्युतीय तार भूमिगतको कार्य शिलान्यास गरेका छन् ।

आज शनिबार चितवन क्षेत्र नं.३ का सांसद समेत रहेका प्रचण्ड र कुलमानले पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणले भरतपुर बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य सुरुवात गरेका हुन् ।

शिलान्यास समारोहमा अध्यक्ष प्रचण्ड र घिसिङसंगै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतको सहभागिता रहेको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना थालनी गरिएको हो ।

उक्त आयोजना अन्तर्गत कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकको विद्युतलाइन भूमिगत गरिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अप्टिकल फाइवर केवल बिछ्याइनेछ ।

यसका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट्स प्रा.लि.ले ठेक्का सम्झौता गरेको छ । कुल कुल २ अर्ब ५८ करोड ७९ लाख ३८ हजार ३५२ रुपैयाँमा यस आयोजनाको सुरुवात भएको हो । यस आयोजना २ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यस आयोजनाको मुख्य उद्देश्य विद्युत वितरण प्रणालीलाई भूमिगत रुपमा सुदृढीकरण गर्ने, आवश्यकता अनुसार ओभरहेड रुपमै पनि सुदृढीकरण गर्ने, जडित वितरण ट्रान्सफरमरहरु थप गर्ने र अप्टिकल फाइबर केबुल बिछ्याई वितरण प्रणाली अटोमेशन गर्ने रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !