६ बैशाख २०८१, बिहिबार

लेखनाथदेखि पोखरासम्मको बिजुली लाइन भूमिगत गरिने


रातीमा पोखराको दृश्य

गण्डकी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सवस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन भूमिगत गर्ने कार्य प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा आज कार्यकारी निर्देशक घिसिङले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरे ।

अन्तका सवस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्ने जानकारी गराउँदै उनले यो सवस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने बताए ।

मोदीखोलामा रहेका परियोजनाहरूबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सवस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिट्टै सल्टाइने उनको भनाइ छ ।

निर्देशक घिसिङले सरकारी कार्यालयमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गरे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित तीन ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको उल्लेख गर्दै उनले स्वदेशको विद्युत् खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजना धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको उनले बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताए ।

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत् प्राधिकरणले सघाउने भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा ऊर्जामन्त्री आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !