१३ बैशाख २०८१, बिहिबार

विजुलीको प्रसारण लाइनमा झुण्डिएका पुरुषलाई उद्धार गर्न ऊर्जामन्त्रीको निर्देशन


प्रसारण लाइनमा झुण्डिएका माइला विक

काठमाडौँ । नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन् ।

आज बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।

माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन् ।

उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिए ।

मन्त्री भुसालले प्रसारण लाइनमा झुण्डीएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गरेकी छन् । उनले भने, “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भएपनि उद्धार गरौ भनेर सेनालाई आग्रह गरेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !