१३ बैशाख २०८१, बिहिबार

सबस्टेशनको क्षमता बढाइयो


विद्युत् प्रसारण लाइन

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी क्षमता बढाइएको जानकारी दिनुभयो । उहाँले ८०० एम्पियर क्षमतालाई बढाएर एक हजार ५०० बनाइएको बताउनुभयो । उहाँका अनुसार सबस्टेशनमा सर्वसाधारणका लागि नौवटा र कोकाकोला कम्पनीका लागि एउटा छुट्टै गरी जम्मा १० फिडर रहेका छन् । उक्त फिडरका लागि दुईवटा इनकमर छन् ।

एउटा इनकमरमा ओभरलोड भएर ट्रिप हुनेबित्तिकै पाँचवटा फिडरको विद्युत् काटिन्थ्यो । आधा जिल्लाभर विद्युत् कटौती हुने गर्दथ्यो । उहाँका अनुसार अहिले नै इनकमर फूल लोडमा थियो । “अहिले नै ८०० एम्पियरको रेन्जमा करेन्ट पुगिसकेको अवस्था छ । त्यसैले गर्मीयाममा ९०० एम्पियरसम्म करेन्ट पुग्ने अवस्था थियो । यो क्षमताले कुनै पनि हालतमा थेग्न सक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले क्षमतालाई बढाएका हौँ ।” आठ सय एम्पियरबाट एक हजार ५०० एम्पियर गणितीय नियमका आधारमा बढाइएको उहाँले बताउनुभयो ।

अब क्षमता बढाएपछि गर्मीयाममा ओभरलोड भएर विद्युत् कटौती हुने समस्या नआउने सापकोटाको भनाइ छ । भरतपुर सबस्टेशन चितवनको मुख्य र ठूलो सबस्टेशन हो । यहाँ ट्रान्समिसनको लाइनलाई ल्याएर कम भोल्टेज बनाई अन्य सहायक सबस्टेशनमा पठाइन्छ । माडी, चनौली र टाँडीमा सहायक सबस्टेशन रहेका छन् ।

भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध

नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ । केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्लामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठीजस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होलीपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।

कठारमा बाली उपचार शिविर

पूर्वी चितवनको खैरहनी–१० कठारमा सोमबार घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र चितवन र खैरहनी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो । शिविरमा वडा नं ९, १० र ११ का किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्शसमेत दिइएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा भेडे खुर्सानी र अकबरे खुर्सानीमा ओइलाउने, फेद कुहिने रोग र भाइरस, गोलभेँडामा पछौटे डढुवा र गोलभेँडाको पात खन्ने कीरा (टुटा कीरा) तथा मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएको अर्यालले बताउनुभयो । कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताउनुभयो ।

नकआउट फुटबल प्रतियोगिता शुरु

चितवनको माडीमा सोमबारदेखि होलीकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । गौरीशङ्कर युवा क्लब माडी–७ गौरीनगरको आयोजनामा सोमबारदेखि १९औँ अन्तर माडी होलीकप नकआउट फुटबल प्रतियोगिता २०७७ शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ ले हार व्यहोरेको छ । गौरीनगरस्थित खेल मैदानमा भएको खेलमा वसन्तपुर युनाइटेड क्लब ‘बी’ ले आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । वसन्तपुरको जीतमा सम्राट दराईले दुई तथा एबिन बस्याल, शिशिर सुनार र कृष्ण महतोले एक÷एक गोल गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले खेलकूदको विकासका लागि माडीका क्लबहरुलाई नगरपालिकामार्फत आर्थिक, भौतिक र नैतिक सहयोग सदैव प्रदान गर्ने उल्लेख गर्नुभयो । माडीका १७ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले रु ७० हजार तथा उपविजेताले रु ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !