४ बैशाख २०८१, मंगलबार

रुपन्देही-३ बाट राप्रपाका दीपक बोहरा बिजयी, गृहमन्त्री खाणको लज्जास्पद हार


विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहे ।

‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गरेका छन् ।

उनले निकै प्रतिस्पर्धा रहेको प्रतिनिधिसभाको निर्वाचन २०७९ अन्तर्गत गृहमन्त्री सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई दुइहजार छ सय ८१ मत अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

बोहोराले ३६ हजार सात सय १७ मत ल्याउँदा गृहमन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गरेको क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।

राप्रपाका नेता बोहरा घाँटीमा समस्या भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा सम्बोधन गर्नु पाएनन् । हाल चिकित्सकको सल्लाहअनुसार नै उनले ‘स्पीच थेरापी’ गरिरहेका छन् ।

सभा समारोहमा उपस्थित भए पनि उम्मेदवार बोहराले कहीँ पनि मन्तब्य राख्न पाएनन् । उनका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय लगायतले सभा भेलामा मन्तव्य राख्ने गरेका थिए ।

बोहरा कोरोना महामारीको दोस्रो लहरमा चलेका बेला २०७७ जेठमा सङ्क्रमित भएका थिए । त्यतिबेला उहालाई खासै समस्या देखिएको थिएन । “उहाँलाई त्यतिबेला ज्वरो, खोकीलगायतका सामान्य लक्षण मात्रै देखिएका थिए । घरमै बसेर आराम गर्दा ठीक भएको थियो”, राप्रपा नेता स्वाती थापाले भने ।

निर्वाचन अवधिभर बोहरा बिहान ६ बजेदेखि राति ११ बजेसम्म घरदैलो, कोणसभामा सहभागी भए तर, कतै बोलेनन् । स्वातीका अनुसार बोहराले नै तीन दलीय नेताहरुलाई क्षेत्रभरि आफैँ परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको छलफल गर्ने र कार्यक्रममा सहभागी भइरहने काम गरे ।

चुनावी प्रचारको सुरुआतमा आफ्ना कुरा कागजमा लेखेर अरुलाई बोल्न लगाउने गरिए पनि पछि त्यो झन्झट भएपछि पार्टीका नेताहरुले नै सम्बोधनमार्फत बोहराका प्रतिबद्धता राखिदिने गरेका थिए ।

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खाण र राप्रपाका नेता दीपक बोहरा अघिल्लो आम निर्वाचनमा सहयात्री थिए । विसं २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा निर्वाचन लडेका थिए । त्यसबेला बोहरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिडेका गृहमन्त्री खाण अहिले प्रतिस्पर्धी थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी हुनुभएका नेता बोहोरा २०७४ मा रुपन्देही–३ मा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।

राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो ।

त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका राप्रपा नेता बोहरा २०५७ मा बैंक अफ काठमाडौँको अध्यक्ष बनेका थिए । बोहरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

विस २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका बोहोरा २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बन्ने अवसर पाए ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहरा २००७ साल चैत १८ गते पाल्पामा बुवा प्रतिमानचन्द्र र आमा निमा बोहराको कोखबाट जन्मिएका हुन् । बोहरा राजनीतिशास्त्रमा स्नातक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !