६ बैशाख २०८१, बिहिबार

नुवाकोट-२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित


अर्जुननरसिंह केसी

नुवाकोट । नुवाकोट क्षेत्र नं २ बाट सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार केसीले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गरेका छन् । केसीले २८ हजार १०७ मत ल्याएर निर्वाचित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेले १६ हजार ४७७ र नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे ।

यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५ ६४ मतान्तरले निर्वाचित भएका हुन् ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याएका छन् ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !