७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित


सोविता गौतम

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले नेकपा (एमाले) का प्रतिद्वन्द्वी उम्मेदवार मणिराम फुयाललाई फराकिलो मतान्तरले पराजित गरेर निर्वाचित भएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले १५ हजार २२९ मत प्राप्त गरेर निर्वाचित भएकी छन् भने एमालेका फुयालले ११ हजार ५५५ मत ल्याएका छन् । गौतमले फुयाललाई ३ हजार ६७४ को मतान्तरले जितेकी हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल ११ हजार १४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहिन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी पूर्वसभामुख समेत भएकी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले ९ हजार ४४९ मत प्राप्त गरेर चौथो स्थानमा सीमित भइन् । काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार ९५६ मत खसेकोमा २ हजार ११६ मत बदर भएको थियो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित २७ वर्षीया सोविता सम्भवत: सबैभन्दा कम उमेरकी सांसद हुने छिन् । अधिवक्ता समेत रहेकी गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा आफूले अबको पाँच वर्ष लगाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उनले लोकतान्त्रिक व्यवस्थाको पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत आफू अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भएको उल्लेख गरेकी छन् । अब्बल प्रतिस्पर्धाका लागि प्रतिस्पर्धीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवाललाई संसद्मा पैरवी गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

उनी नेपालको ८० वर्षको भविष्य देख्न र कोर्ने चाहना व्यक्त गरेकी छन् । युवाको काँधमा नेपालको राजनीति आइसकेको बताउने गौतम देशलाई परिवर्तन गर्ने बेला आइसकेको धारणा राख्छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !