१३ बैशाख २०८१, बिहिबार

सप्तरीको क्षेत्र नं १ र २ : जनमत पार्टीका राउत दाजुभाइको अग्रता


डा. सीके राउत र जयकान्त राउत

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतका साथ अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका रामदेव साहले दुई सय १४ मतका साथ पछ्याइ रहेका छ भने नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले दुई सय एक मत ल्याएर तेस्रोमा छन् । प्रदेशसभातर्फ क्षेत्र नं १ (१) र (२) मतगणना कार्यसमेत सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।

यस्तै सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राखेका छन् । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणाम अनुसार डा. राउतले एक हजार २० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार सय ५२ मत प्राप्त गरेका छन् ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले तीन सय आठ मत ल्याएर तेस्रोमा छन् । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ (१) मा जनमत पार्टीका सतिश सिंहले एक हजार तीन सय २१ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच सय ६१ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार सय ३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ (२) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !