१२ बैशाख २०८१, बुधबार

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको सुरुआती अग्रता


डा. सिके राउत

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सुरुआती अग्रता देखिएको छ । उनको छ सय २९ मत प्राप्त हुँदा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक सय ६९ मत ल्याएका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ (क) मा जनमत पार्टीका सतिश सिंहले सात सय ३१ मत प्राप्त गर्दा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक सय ५२ र जसपाका शैलेन्द्रप्रसाद साहले एक सय ५२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ (ख) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा लोकतान्त्रिक– वाम गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारले ढिलागरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताए ।

क्षेत्र नं ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उहाँको भनाइ थियो । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !