४ बैशाख २०८१, मंगलबार

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था जियोक


जियोक

काठमाडौँ । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ ।

मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए ।

बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो । उक्त संस्थाले मुलुकका ३६ जिल्लाको दुई सय ५० पालिकामा राष्ट्रियस्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका दुई सय ८४ पर्यवेक्षक खटाएको थियो ।

पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवसहितको १० विशेष पर्यवेक्षक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा संस्थाले निष्कर्ष निकालेको उल्लेख गरेको छ ।

यसै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ ।

उक्त संस्थाले यस निर्वाचनमा एक हजार आठ सय पर्यवेक्षक खटाएको नियोगका कार्यकारी निर्देशक विकल श्रेष्ठले बताए । उक्त संस्थामा रहेका एक पूर्वप्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको पर्यवेक्षण गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !